Kakhara सबैको खबर सम्पूर्ण खबर
सामुदायिक वन फडानी गरेको आरोपमा रूकुम पश्चिममा १ जना पक्राउ, ३ जना फरार 

सामुदायिक वन फडानी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रूकुम पश्चिमकाे चौरजहारी नगरपालिका वडा नम्बर ११ सर्केनाका ५१ वर्षीय दिलबहादुर शाहलाई डिभिजन वन कार्यालय रुकुम पश्चिमले शुक्रवार पक्राउ गरेको हो । जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि डिभिजन वन कार्यालयबाट खटिएको टोलीले ५१ वर्षीय शाहलाई पक्राउ गरेको डिभिजन बन कार्यालयका निमित्त प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो । 

उहाँका अनुसार सामुदायिक वन फडानीको आरोप लागेका सोही ठाउँका ३ जना भने फरार रहेका छन् । पक्राउ परेका शाहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । डिभिजन वन कार्यालयले पक्राउ गरी शाहलाई प्रहरी कार्यालयमा बुझाएकाे जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।

विद्युत् लाइन विस्तार गर्ने क्रममा जनकल्याण सामुदायिक वन भित्र १० दिन पहिले ३१ वटा सल्लाका रुख काटेको आरोप उनीहरू माथि लागेको छ । अन्य फरार ३ जनाको पनि खोजी कार्य भइरहेको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update