रुकुम पश्चिममा महिला स्वास्थ्य स्वयंसेविकालाई मानसिक स्वास्थ्य सम्बन्धी तालिम दिइएको छ । सि.बि.एम ग्लोबलको सहयोगमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपाल र मुसिकोट नगरपालिकाले संयुक्त रूपमा तीन दिने तालिमको आयोजना गरेका हुन् ।
महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मनोसामाजिक र मानसिक स्वास्थ्यका विषयमा जानकारी गराउने, आफ्नो कार्यक्षेत्रमा मानसिक स्वास्थ्य समस्याको पहिचान गर्ने र स्वास्थ्य संस्थामा सिफारिस गर्न सजिलो होस भन्ने तथा स्वयंसेविकाको तनाव व्यवस्थापनका लागि तालिमको आयोजना गरिएको सि.एम.सी नेपालका मनोसामाजिक मनोपरामर्शकर्ता डिलबहादुर शाहीले जानकारी दिनुभयो ।
तालिममा मुसिकोट नगरपालिका वडा नम्बर ६, ७, ८, ९, १० र ११ का २२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । उनीहरुलाई मनोसामाजिक समस्या, यसले पार्ने असर, मानसिक स्वास्थ्य सम्बन्धी समस्या, यसका लक्षण, रोकथामका उपाय, एक अर्काका बिचमा सञ्चारका सीपहरु र तनाव व्यवस्थापनका विषयमा सिकाइएको थियो ।
तालिम मुसिकोट नगरपालिका वडा नम्बर ६ झुल्खेतमा रहेको प्रयोगशाला सहितको स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन भएको थियो । तालिमको सहजीकरण मनोसामाजिक मनोपरामर्शकर्ता डिलबहादुर शाही र मुसिकोट नगरपालिकाका सामुदायिक मनोसामाजिक कार्यकर्ता सर्वजीत खड्काले गर्नुभएको थियो । तालिम हिजो सम्पन्न भएको हो ।