Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
महाेत्सव आयोजनाका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलन ।

रुकुम पश्चिमको स्यार्पू तालमा सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । असोज ११ गतेदेखि असोज २१ गतेसम्म बाँफिकोट गाउँपालिका ३ मा महोत्सव हुने भएको हो । बाँफिकोट गाउँपालिकाको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको व्यवस्थापनमा राष्ट्रिय कलाकारको प्रस्तुति तथा व्यापारिक स्टल सहितको महोत्सव हुने भएको हो । स्यार्पूमा विगत १३ वर्ष देखि खेलकुद र स्थानीय झाँकी तथा नाच गान सहित मेला लाग्दै आएको छ । तर यो पटक भने राष्ट्रिय कलाकारको प्रस्तुति र व्यापारिक स्टल सहितको ठुलो महोत्सव आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमका अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो । स्यार्पू तालमा पहिलो पटक २०६७ साल असोज ११ गते देखि १५ गतेसम्म स्यार्पू महोत्सव लागेको थियो । त्यसैको सम्झनामा स्यार्पूमा हरेक वर्ष एक साताको महोत्सव हुने गरेको छ ।

Syarpu Mahotsab 11694927471.jpg
पत्रकार सम्मेलन ।

यो पटक भने ठुलो महोत्सव हुने भएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आज मुसिकोट खलङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने बारेमा जानकारी गराएको छ । स्यार्पू ताललाई चिनाई स्यार्पूको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित महोत्सव सञ्चालन गर्न लागिएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । ‘स्यार्पू तालमा पहिलो पटक महोत्सव आयोजना भएदेखि त्यसको सम्झनामा हरेक वर्ष मेलाको रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, उहाँले भन्नुभयो–यो वर्ष भने राष्ट्रिय कलाकार नै आउने गरी महोत्सव गर्न लागेका छौँ, महोत्सवमा व्यापारिक स्टलहरू समेत हुने छन्, यसबाट स्यार्पूको पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयले सुपथ मूल्यमा विभिन्न सामग्री पाउने छन् ।’

Syarpu1694502619.jpg
स्यार्पू ताल ।

महोत्सवमा गायक बद्री पङ्गेनी, रामजी खाँड, सुप्रिम मल्ल ठकुरी, गायिका ज्योति मगर लगायतका राष्ट्रिय स्तरका कलाकारहरू आउने देवकोटाले बताउनुभयो । कलाकारका विषयमा अझै छलफल चलिरहेकोले थप कलाकारका बारेमा पछि थाहा हुने उहाँको भनाई छ । त्यस्तै महोत्सवमा विभिन्न व्यापारिक स्टलहरू रहने छन् भने भलिबल लगायतका खेलकुद प्रतियोगिता पनि सञ्चालन हुने उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय झाँकीहरू समेत महोत्सवको आकर्षण हुने छन् भने स्थानीय उत्पादनलाई प्राथमिकता दिइने छ । बाँफिकोट गाउँपालिका आयोजकका रूपमा रहने छ भने महोत्सवको अन्य सबै व्यवस्थापन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गर्ने छ ।

खेलकुदका लागि बाँफिकोट गाउँपालिकाले रकम छुटाएको छ भने अन्य सबै खर्चको व्यवस्थापन पनि प्रतिष्ठानले नै गर्ने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update