Kakhara सबैको खबर सम्पूर्ण खबर
तिजको मौलिकता लोप हुँदै, मौलिकता जोगाउन कसले दिने ध्यान ? 
माैलिकता झल्किने तिज नाच । अचेल यस्ताे नाच बिरलै देख्न पाइन्छ ।

रुकुम पश्चिमकाको त्रिवेणी गाउँपालिका २ का ८२ वर्षीय मनबहादुर ओलीलाई तिज आएको जस्तो भान नै भएको छैन । उहाँलाई समाजमा विकृति मौलाएको भान भइरहेको छ । ‘मादल लगायतका वाद्यवादनका सामग्री बजाएर स्थानीय मौलिकता झल्किने गीत गाएर नाच्ने उहिलेको तिजको विशेषता थियो । अहिले ती सामग्री देख्नै मुस्किल छ । एउटा साउण्ड सिस्टम भए पुग्यो उहाँले भन्नुभयो ।’

पछिल्लो पुस्ताका छोरी चेलीले मौलिकता जोगाउने भन्दा पनि आधुनिकता तिर बढी जोड दिएको देखिन्छ । मौलिकता जोगाउन कसैलाई चिन्ता छैन । पछिल्लो समय सहरमा मात्रै हैन, गाउँमा नै तिज मनाउने उछृङखल बानी बसिसकेको ओलीले सुनाउनुभयो । दर खाने नाममा १ हप्ता पहिले देखिनै तयारी गर्ने ठुला ठुला होटेल रेष्टुुरेन्टमा गएर दर खाने चलन बसिसकेको देखिन्छ, पैसा हुनेहरूले संस्कृतिको नाममा विकृति मैलाएको उहाँ सुनाउनु हुन्छ । बजारमा पहिले नै तयार भएका गीतमा रमाउने प्रवृत्तिले मौलिकता हराउँदै गएको छ । मौलिकता जोगाउनु पर्छ भन्ने त कसैमा सोच देखिँदैन ८२ बर्सिया ओलीले भन्नुभयो । 

मुसिकोट नगरपालिका ५ कि ७६ वर्षीय मनकली खत्रीलाई पनि पछिल्लो समयमा नारीहरुको विशेष पर्व तिज मनाउने शैली मन परेको छैन । दर खाने नाममा नारीहरुले नाच गान गर्ने र  समाजमा नपच्ने खालका गतिविधि भइरहेकाले तिज पर्वलाई खल्लो बनाएको दुखेको उहाँले पोख्नुभयो । कतिपय ठाउँमा त परिवारसंगै बसेर हेर्न नमिल्ने खालको पनि नाचो देखिन्छ । यसले मौलिकता जोगाउने भन्दा पनि मासिँदै गएको खत्री बताउनुहुन्छ । 

‘हाम्रो पालामा तिजको व्रत बसेर व्रत सकिएपछि गाउँका दिदीबहिनी कुनै एक ठाउँमा जम्मा हुने, आफैले तिज गीत गाउने, रमाइलो गर्ने चलन थियो । नाच गान गरेर रमाइलो गर्दै रात कटाइन्थ्यो । पछिल्लो समयमा त तिज तिज जस्तो पनि लाग्दैन, पहिले नै बजारमा तयार भएका गीत स्पिकरमा लगाएर नाच्छन्, एकै छिन नाच्छन् तिज सकिन्छ खत्रीले भन्नुभयो ।’ फाटफुट कहीँ कतै मौलिकता देखिए पनि पछिल्लो समय तिजको मौलिकता हराउँदै गएको देखिन्छ । पछिल्लो समय पैसा हुनेहरूका लागि तिज र पैसा नहुनेका लागि चिन्ताको स्थिति छ । 

मौलिकता जोगाउन तर्फ भने कसैको ध्यान जान सकेको छैन । युवायुवतीलाई मौलिकता भन्दा आधुनिकता तिर ध्यान छ । तिजमा मात्रै नभएर अन्य स्थानीय मौलिकता समेत हराउँदै गएका छन् । मौलिकतालाई कसले जोगाउने ? यक्ष प्रश्न उब्जिएको छ । आखिर मौलिकता कसले जोगाउने त ? 

मौलिकता जोगाउन युवा पुस्ता नै लाग्नुपर्ने शिक्षक कुवेर ओली बताउनुहुन्छ । पुर्खाले जोगाउँदै आएको मौलिकता र संस्कृति भुलेर आधुनिकता तिर रमाउने हो, भने अवका पुस्ताले स्थानीय मौलिकता र संस्कृतिको महसुस समेत गर्न नपाउने उहाँको भनाई छ । स्थानीय मौलिकता र संस्कृति बचाई राख्न पुर्खासँगै नयाँ पुस्ताले पनि हातेमालो गर्नुपर्ने शिक्षक ओलीको भनाई छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update