राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ काे सिमानामा पर्ने पितिवाङ खोलामा आवतजावत बन्द भएको छ । खोला वारपारको लागि खोलामा ह्युम पाइप राखी गरिएको ढलानको वरिपरिको भाग खोलामा आएको बाढीले बगाउँदा यातायातका साधन वारपार गर्न सकेका छैनन् । आज दिउँसो देखिको अविरल वर्षा पछिको बाढीले ढलानमा वरिपरिको भाग खोलाले बगाएको छ ।
जसका कारण राप्ती राजमार्ग हुँदै दाङ काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा जाने आउने सवारी साधन खोला पारिपारी रोकिएका छन् । खोला वारपार गर्न समस्या भएको त्रिवेणी १० का सन्तोष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पितिवाङ खोलामा गरिएको आधा ढलान खोलाले बगाएको छ । बाढी आउने क्रम नरोकिएकाले बाँकी रहेको भाग पनि बगाउने सम्भावना रहेको उहाँले बताउनुभयो । खोला वारपार गर्न नसकेपछि विद्युत् मर्मतको काम गर्न गएका कर्मचारी पनि खोला पार गर्न नसकेर रोकिएको विद्युत् प्राधिकरण रुकुम पश्चिमले जनाएको छ । उक्त ठाउँमा पक्की पुल नबन्दा बर्सेनि नागरिकले सास्ती भोगिरहेका छन् ।