रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयले आफ्नो ७१ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ । भदौ २६ गते देखि वार्षिक उत्सव विशेष कार्यक्रम सुरु गरेको विद्यालयले १ हप्तासम्म विभिन्न कार्यक्रम गरेर आज सम्पन्न गरेको हो । आज दिवस विशेष मञ्चको कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक गोपिराम केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार २६ गते पहिलो दिन विद्यालय परिसरमा सरसफाइ, २७ गते देखि ३१ गतेसम्म खेलकुद तथा सांस्कृतिक कार्यक्रम भएका थिए । जसमा नाच गान, हाजिरजवाफ, हाइजम्प, लङजम्प, भलिबल, कविता वाचन लगायतका विभिन्न कार्यक्रमहरू थिए ।
वार्षिकोत्सवको अवसरमा १५ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई २ हजार देखि ४ हजार ५ सयसम्म छात्रवृत्ति पनि प्रदान गरिएको प्रअ केसीले बताउनुभयो । वार्षिकोत्सवको मुख्य दिन आज विद्यालयको एक वर्षको प्रगति प्रतिवेदन समेत सार्वजनिक गरिएको उहाँले बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार भने ४ गने वितरण गर्ने विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै १ नम्बर वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द, शिक्षक, अभिभावक, भुपु शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू राखेका थिए ।