Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम माछा, मासुमा आत्मनिर्भरः एक वर्षमा ६९ करोड भन्दा धेरै मूल्यको माछा मासु बिक्री 

रुकुम पश्चिम माछा मासुमा आत्मनिर्भर बनेको छ । ३ नगरपालिका ३ गाउँपालिका रहेको रुकुम पश्चिम माछा, मासुमा आत्मनिर्भर बन्दै गएको हो । स्थानीय उत्पादनले नै जिल्ला माछा, मासुमा आत्मनिर्भर रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख ज्ञानुुकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ८ सय ३९ दशमलव २६ मेट्रिक टन अर्थात् ८ लाख ९ हजार २ सय २० केजी मासु उत्पादन भएर बिक्री भएको छ ।

माछा २ सय ३१ मेट्रिक टन अर्थात् २ लाख ३१ हजार केजी उत्पादन भएको छ । जिल्लामा मासुको स्रोत भनेको खसी, बोका, रागां, बुङ्गुर र भेडा रहेका छन् । जिल्लालाई पुगेर पनि जिल्लाबाट खसी, बोका अन्यत्र जाने गरेका छन् । जिल्ला बाहिर चितवन, काठमाडौँ लगायतका विभिन्न बजार क्षेत्रमा पठाउने गरिएको छ । आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा व्यवसायिक रूपमा बाख्रा पालन गरिएकाले त्यहाँ धेरै मामु उत्पादन हुने गरेको निमित्त प्रमुख शर्माको भनाई छ ।

माछा भने जिल्लामा विशेष गरी स्यार्पू ताल, भेरी नदी, मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा उत्पादन हुने गरेको छ । स्थानीय उत्पादनले अण्डामा भने जिल्ला आत्मनिर्भर नरहेको शर्माकाे भनाई छ । व्यवसायीक रूपमा अण्डाको लागि कुखुरा पालन नगरिएकाले पनि जिल्लाका लागि पोखरा, चितवन दाङ लगायतका ठाउँबाट अण्डा ल्याउनुपर्ने बाध्यता रहेको छ ।

बितेको आर्थिक वर्ष २०७९/८० मा जिल्लाभित्र र बाहिर गरेर ६७ करोड १४ लाख ८ हजार बराबरको मासु बिक्री भएको छ । भने माछा २ करोड ५ लाख मूल्य बराबरको बिक्री भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update