संविधान दिवसको अवसरमा रुकुम पश्चिममा रक्तदान गरिएको छ । पत्रकार महासंघ महासंघ रुकुम पश्चिमले आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् । मानव विकास तथा सामुदायिक सेवा एच डि सि एस चौरजहारी अस्पताल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र उप शाखा चौरजहारीको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । रक्तदान कार्यक्रममा सुरक्षाकर्मी, कर्मचारी, पत्रकार लगायतले रक्तदान गरेको पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार रक्तदान गर्ने र प्राविधिक सहयोग गर्ने स्वास्थ्यकर्मीलाई सम्मान स्वरूप प्रमाणपत्र प्रदान गरिएको छ । ब्लड बैकमा रगत मौज्दात राख्न, रगत आवश्यक परेका बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पत्रकार महांसघ रुकुम पश्चिमले जनाएको छ । रक्तदान कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन भएको थियो । जिल्लामा ब्लड बैकको स्थापना भए पनि आवश्यक परेको बेला रगत नहुँदा बिरामीहरूलाई समस्या हुने गरेको छ ।
पत्रकार महासंघका अध्यक्ष केसीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै समन्वय उप प्रमुख देवबहादुर विक, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नमराज भट्टराई, सशस्त्र प्रहरी प्रमुख सुमन लामिछाने, चण्डी दल सल्लेका प्रमुख सेनानी बरुण केसी, अनुसन्धान अधिकृत होेमराज रेग्मी, रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाकी सभापति रमा गौतम, स्वास्थ्यकर्मी लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।