रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा अवस्थित स्यार्पू तालमा आयोजित महोत्सवको तयारी पुरा भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमको व्यवस्थापनमा बाँफिकोट गाउँपालिकाले भोली देखि सञ्चालन हुने गरी आयोजना गरेको महोत्सवको तयारी पुरा भएको बताइएको छ । प्रचारप्रसार, मञ्च तथा स्टल व्यवस्थापन लगायत महोत्सवको भोली बिहान ११ बजे कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो ।
महोत्सवको सबै तयारी पुरा भएको र भोली बिहान मुख्यमन्त्री शर्माबाट महोत्सवको उद्घाटन हुने उहाँले बताउनुभयो । जसका लागि मुख्यमन्त्री शर्मा जिल्ला आइसकेको उहाँको भनाई छ । स्यार्पू तालको पर्यटन प्रवर्द्धनका लागि तालको छेउमा महोत्सव आयोजना गरिएको छ । उहाँका अनुसार भोलीबाट सुरु हुने महोत्सव असोज २१ गतेसम्म सञ्चालन हुने छ । स्यार्पू तालमा पहिलो पटक २०६७ साल असोज ११ गते देखि १५ गतेसम्म स्यार्पू महोत्सव लागेको थियो । त्यसैको सम्झनामा स्यार्पूमा हरेक वर्ष एक साताको मेला लाग्दै आएको थियो ।
यो पटक भने ठुलो महोत्सव हुन लागेको हो । ‘स्यार्पू तालमा पहिलो पटक महोत्सव आयोजना भएदेखि त्यसको सम्झनामा हरेक वर्ष मेलाको रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष देवकोटाले–यो वर्ष भने राष्ट्रिय कलाकार नै आउने गरी महोत्सव आयोजना छौँ, महोत्सवमा व्यापारिक स्टलहरू समेत हुने छन्, यसबाट स्यार्पूको पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयले सुपथ मूल्यमा विभिन्न सामग्री पाउने छन् ।’
महोत्सवमा गायक बद्री पङ्गेनी, रामजी खाँड, सुप्रिम मल्ल ठकुरी, गायिका ज्योति मगर लगायतका राष्ट्रिय स्तरका कलाकारहरू आउने देवकोटाले बताउनुभयो । त्यस्तै महोत्सवमा विभिन्न व्यापारिक स्टलहरू रहने छन् भने भलिबल लगायतका खेलकुद प्रतियोगिता पनि सञ्चालन हुने उहाँले बताउनुभयो । महोत्सवमा स्थानीय झाँकीको रौनक समेत रहने बताइएको छ ।