Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले स्यार्पू ताललाई आयआर्जनसँग जोड्नुपर्ने बताउनुभएको छ । स्यार्पू ताल छेउमा आयोजित स्यार्पू महोत्सवको उद्घाटन गर्दै उहाँले स्यार्पू ताल रुकुम पश्चिमको प्रमुख पर्यटकीय स्थल रहेको र अव यसलाई आयआर्जनसँग जोड्न आवश्यक रहेको बताउनुभयो । ‘हामी माझमा यति राम्रो ताल छ, यसलाई व्यवस्थित बनाउन जरुरी छ, उहाँले भन्नुभयो–यहाँका घरघरमा होमस्टे हुनुपर्दछ, घरका डिलमा सुन्तला बारी हुनुपर्छ, बाहिरबाट आउनेले आफैले टिपेर खान सक्ने हुनुपर्छ, आफ्नै हातले बोटबाट केरा निकालेर खान पाउन, मान्छेहरू आफैँ आएर भैँसी दुहेर खान पाउन, हामीले यो खालको वातावरण बनाउनु पर्दछ ।’

स्यार्पूताल पर्यटकीय रूपमा जति सुन्दर छ त्यसरी नै मान्छेका व्यवहार र आनीबानीमा सुधारको आवश्यकता रहेकामा उहाँले जोड दिनुभयो । कुनै पनि क्षेत्रको विकासका लागि त्यहाँको संस्कार, मान्छेको आनीबानी, सोच, चिन्तन पनि सुदृढ हुनुपर्ने उहाँले बताउनुभयो । कृषि र पर्यटनलाई सँगै जोडेर अघि बढ्नुपर्ने मुख्यमन्त्री शर्माले बताउनुभयो । ‘बजेट नआएको होइन, योजना नबनेको होइन, तर व्यवस्थित रूपमा काम हुन सकेको छैन, यसलाई व्यवस्थित गर्नुपर्छ, हाम्रो सोच्ने बानीमा सुधार गर्न आवश्यक छ उहाँले भन्नुभयो ।’ स्यार्पू ताल पर्यटकीय हिसाबले मात्र महत्त्वपूर्ण नभई जलविद्युत उत्पादनका हिसाबले पनि महत्त्वपूर्ण रहेको बताउनुभयो ।

‘यो ताल जलविद्युत उत्पादनका हिसाबले पनि महत्त्वपूर्ण छ, विगत देखि नै तालबाट निस्किएको पानीबाट बिजुली उत्पादन भइरहेको छ, उहाँले भन्नुभयो–अव हामी निकट भविष्यमै ३.३ मेगावाट विद्युत् उत्पादन गर्दै छौँ ।’ साथै उहाँले फरक प्रसङ्गमा शिक्षालाई प्रविधिसँग जोड्ने र समयानुकूल विकास गर्दै लैजाने कुरामा प्रदेश सरकार गम्भीर रहेकोमा जोड दिनुभयो । स्वास्थ्य सेवालाई पनि तीन वटै तहको लगानीमा व्यवस्थित गर्दै लैजानका लागि प्रयत्न भइरहेको उहाँले स्पष्ट पार्नुभयो । रोजगारीका लागि कृषि र वन पैदावारमा केन्द्रित उद्योग खोल्न लागेको बारेमा समेत मुख्यमन्त्री शर्माले जानकारी दिनुभयो ।

रोजगार मार्फत प्रतिवर्ष कम्तीमा पनि १० हजारलाई स्वरोजगार बनाउने र ५ वर्षमा कर्णालीको गरिबिलाई अन्त्य गर्ने लक्ष कर्णाली प्रदेश सरकारले लिएको उहाँको भनाई छ । साथै उहाँले सरकार र निजी क्षेत्र तथा अन्य निकायको समन्वयको समेत खाँचो रहेको उल्लेख गर्नुभयो । समाजमा रहेको सबै खाले विभेदलाई अन्त्य गर्नु पनि कर्णालीको चुनौती रहेको उहाँको भनाई थियो ।   

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update