Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा उद्योग तथा वाणिज्य फर्महरूको काम अव स्थानीय तहबाटै
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रूकुम पश्चिम ।

रुकुम पश्चिममा उद्योग तथा वाणिज्य व्यावसायिक फर्महरूको कामकाज अव सम्बन्धित स्थानीय तहबाटै हुने भएको छ । चालु आर्थिक वर्षदेखि तीन लाख देखि दश लाखसम्म लगानी पुँजी भएका वाणिज्य तर्फका व्यावसायिक र उद्योग तर्फका व्यावसायिक फर्महरूको स्थानीय तहबाटै कामकाज हुने भएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा दर्ता भएका उद्योग तथा वाणिज्य व्यावसायिक फर्महरूले अव सम्बन्धित स्थानीय तहबाट सेवा पाउने भएका हुन ।

यसै आर्थिक वर्ष देखि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमले उद्योग तथा वाणिज्य व्यावसायिक फर्महरूका फाइलहरू सम्बन्धित स्थानीय तहहरूमा हस्तान्तरण गरेको जनाएको छ । १० लाख सम्म लगानी पुँजी भएका वाणिज्य तर्फका व्यावसायिक फर्महरू र ३ लाखसम्म लगानी पुँजी भएका उद्योग तर्फका व्यावसायिक फर्महरूलाई चालु आर्थिक वर्ष देखि सम्बन्धित स्थानीय तहबाटै सेवा प्राप्त गर्ने गरी फाइलहरू हस्तान्तरण गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख मोहनकुमार केसीले जानकारी दिनुभयो ।

वाणिज्य तर्फका व्यावसायिक फर्महरू र उद्योग तर्फका व्यावसायिक फर्महरूको अव स्थानीय तहबाट नै नयाँ उद्योग दर्ता, वाणिज्य तर्फका निजी फर्महरूको दर्ता, नवीकरण र अन्य सम्पूर्ण काम सम्बन्धित स्थानीय तहबाट सम्पादन हुने छन् । कर्णाली प्रदेश सरकारबाट जारी भई सञ्चालनमा आएको औद्योगिक व्यवसाय ऐन २०७८ को दफा ४९, व्यवसाय नियमावली २०७९ को नियम ३१ तथा व्यापार व्यवसाय दर्ता तथा सञ्चालन ऐन बमोजिम फाइलहरू स्थानीय तहमा पठाएको हो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा दर्ता स्रेस्ता कायम भएका उद्योग तर्फका व्यवसाय र वाणिज्य तर्फका व्यवसायका फाइलहरू सम्बन्धित स्थानीय तहमा पठाएको कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो । उद्योग र वाणिज्य तर्फका फाइल गरेर ६ वटा स्थानीय तहमा २ हजार ८ सय ५७ फाइल पठाएको छ । जस अनुसार मुसिकोट नगरपालिकामा उद्योग तथा वाणिज्य तर्फका १ हजार ३ सय ७० फाइल पठाएको छ ।

चौरजहारी नगरपालिकामा ३ सय ९९, आठबीसकोट नगरपालिकामा २ सय ६५ उद्योग तथा वाणिज्य तर्फका फाइल पठाएको हो । त्यस्तै बाँफिकोट गाउँपालिकामा १ सय ८४, सानीभेरी गाउँपालिकामा २ सय ८८ र त्रिवेणी गाउँपालिकामा ४ सय ११ फाइल पठाएको छ । जिल्लाभर ६ वटा स्थानीय तहमा १० लाखसम्म पुजी भएका वाणिज्य फर्महरू २ हजार ३ सय ४१ रहेका छन् । भने ३ लाखसम्ममा पुजी भएका उद्योग तर्फका व्यावसायिक फर्महरू ५ सय १६ रहेका छन् ।

यी उद्योग तथा वाणिज्य तर्फका व्यावसायिक फाइलको काम काज चालु आर्थिक वर्ष देखि सम्बन्धित स्थानीयबाट नै सम्पादन हुने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update