रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले रक्तचाप मापन गरेर विश्व मुटु दिवस मनाएको छ । विश्व मुटु दिवसको अवसरमा नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारीहरूको रक्तचाप मापन गरिएकाे छ । स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकामा कार्यरत ४४ जना कर्मचारीको रक्तचाप मापन गरिएको नगर स्वास्थ्य शाखा प्रमुख रामबहादुर सुनारले जानकारी दिनुभयो ।
उहाँका अनुसार मापन गरिएका केही कर्मचारीको रक्तचाप सामान्य भए पनि केही कर्मचारीको रक्तचाप उच्च रहेको पाइएको छ । सामान्य अवस्थामा रक्तचाप १ सय २० बाई ८० देखि १ सय २९ बाई ९० सम्म हुन्छ, तर केही कर्मचारीको रक्तचाप सामान्य भन्दा उच्च रहेको पाइयाे उहाँले भन्नुभयाे । यस्ता खालका कार्यक्रमका लागि बजेटको व्यवस्थापन गर्न सके अझ प्रभावकारी हुने उहाँको भनाई छ ।
दिवसको अवसरमा मुटुलाई कसरी सुरक्षित राख्ने, मुटुलाई स्वच्छ राख्न के के खानेकुरा खाने, कुन कुन खानेकुरा नखाने लगायतका विषयमा कर्मचारीलाई जानकारी गराइएकाे स्वास्थ्य शाखा प्रमुख सुनारले बताउनुभयाे । मुटु बारे जानौँ र मुटु बचाऔँ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइएको हो ।