आठबीसकोट नगरपालिकाले गत वर्ष १० दिनमै सुविधा सम्पन्न पक्कि आईसोलेसन भवन निर्माण गरेपछि सवत्र चर्चा भएको थियो । नगरवासी एक ढिक्का भएर दिन रात नभनि आईसोलेसन निर्माणमा होमिएका थिए । रातको १२ बजेसम्म पनि काम भएको थियो ।
त्यसको ठिक एक वर्षपछि सोही शैलीमा नगरपालिकामै अर्को काम भइरहेको छ । वडा नं. १० को घारीखोलामा यतिबेला रातारात ४ वटा पक्कि भवन बनाईदै छ । ‘म बनाउँछु मेरो गाउँ’ अभियान अगाडि बढाएर घारीखोलाका स्थानीय गाउँ बनाउन होमिएका छन् ।
गाउँ बनाउने अभियानको सुरुवात भएको छ स्थानीय जनविकास माध्यमिक विद्यालयको भवन निर्माण बाट । बिहानै काम सुरु हुन्छ । राति अवेरसम्म पनि काम चलिरहेकै हुन्छ । १६ दिनमा १६ कोठे ४ वटा पक्कि भवन निर्माण गर्ने लक्ष राखिएको छ । जसमा २ नयाँ भवन हुन भने २ पुराना भवनमा तला थपिने छ । जुन लक्ष भेट्टाउन दिन, रात नभनि काम गरिरहेका बताउनुहुन्छ ‘म बनाउछु मेरो गाउँ’ क्लवका अध्यक्ष भिमराज केसी ।
तीन सिफ्टमा कामदारलाई विभाजन गरिएको छ । जसअनुसार आ–आफ्नो सिफ्टमा कामदार आउँछन । काम गर्छन । उनिहरुलाई स्थानीयले सघाउछन् । गाउँ नै एक ढिक्का भएर लागेको छ । स्थानीय केहि युवाहरुले सुरु गरेको यो अभियानमा अहिले सिंगो गाउँ मात्र होईन देश तथा विदेशमा रहेका वडावासी सहित अन्य ठाउँका युवाहरुले पनि सहयोग गरिहेका छन् ।
सक्नेले आर्थिक सहयोग गर्ने र सहयोग जुटाउने देखि नसक्नेहरुले श्रमदान गरिरहेको भनाई अध्यक्ष केसीको छ । गाउँका वाहेक अन्य ठाउँका युवाहरुले समेत त्यहाँ पुगेर श्रमदान गरेका छन् । चैत्र १३ गतेबाट काम सुरु भएको हो । अभियान अन्तरगत ३९ लाख जति सहयोग जुटेको छ । ३४ लाख नगरपालिकाले सहयोग गर्दै छ ।