Kakhara सबैको खबर सम्पूर्ण खबर
ऋण नतिरेपछि विद्यालयमा ताल्चा !

रुकुम पश्चिमको एक सामुदायिक विद्यालयमा ताल्चा लगाइएको छ । विद्यालय भवन निर्माण गर्दा ल्याएका निर्माण सामग्रीको रकम नतिरेपछि जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ७ फुक्रुमा रहेको जनज्योति आधारभूत विद्यालयमा ताल्चा लगाइएको हो । व्यवसायीले विद्यालयमा तालाबन्दी गरेका हुन् । २०७७ सालमा विद्यालय भवन निर्माण गर्दा निर्माण समितिले सरिया, सिमेन्ट, रङ लगायतका निर्माण सामग्रीको १८ लाख ३७ हजार ७ सय ऋण नतिरेपछि बाध्य भएर विद्यालय भवन बन्द गर्नु परेको सानीभेरी ट्रेडर्स एण्ड सप्लायर्सका बालकृष्ण ओलीले जानकारी दिनुभयो । 

विद्यालय भवन निर्माणको जिम्मा लिएका निर्माण समिति, वडा, पालिका लगायत सम्बन्धित निकायसम्म कुरा राख्दा पनि माग सम्बोधन नगरेपछि बाध्य भएर विद्यालयमा ताल्चा लगाउनु परेको उहाँको भनाइ छ । केही रकम तिरे पनि अब १८ लाख ३७ हजार ७ सय रकम आफूले पाउन बाँकी रहेको उहाँको भनाई छ । ‘‘बाँकी रकमको लागि हामीले ३ वर्षसम्म पर्खियौँ, उदारो रकम दिने आश्वासन मात्रै देखाउनु भयो, पालिकामा पनि पटक पटक कुरा उठायौँ, तर अहिलेसम्म समस्या कतैबाट हल भएको छैन । हार्डवेयरमा समान खरिद गर्दा बैङ्कबाट लिएको लोन २० लाख रकम ७ दिन भित्र नबुझाए नाम लिस्ट कालो सुचीमा राख्ने र जग्गा लिलामी प्रक्रियामा जान्छ भनेर बैङ्कबाट चिठी आएको छ, उदारो रकम नपाउँदासम्म बैङ्कलाई लोन तिर्न सक्ने अवस्था छैन, त्यसैले बाध्य भएर ताल्चा लगाएको हुँ, उहाँले भन्नुभयो ।

पैसा नपाएपछि दोस्रो पटक ताल्चा लगाउनु परेका उहाँको भनाई छ । ‘‘पहिलो पटक विद्यालयमा मगंलबार ताल्चा लगाउँदा पालिकाले सहमति गरौँ विद्यालय खोल्नुहोस् भनेपछि ताल्चा खोलियो, छलफल निष्कर्ष विहीन भएपछि बुधवारबाट फेरी विद्यालयमा ताल्चा लगाएको छु, पाउनु पर्ने रकम नपाउँदासम्म ताल्चा खुल्दैन’’ ओलीले भन्नुभयो । विद्यालयका दुई वटा भवन निर्माण गर्दा र जग्गा महँगो रकममा खरिद गर्दा यस्तो समस्या आएको वडा अध्यक्ष कुलबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय निर्माणको लागि आएको बजेटबाट केही रकम जग्गाको ऋण निर्दा समस्या भएको हो । 

‘‘उहाँहरूको रकम तिर्न बाँकी रहेको साँचो हो, यस विषयमा पटक पटक वडामा र पालिकामा पनि छलफल भइसकेको छ । समस्याको समाधान गर्न सकिएको छैन । उहाँको मात्रै नभएर विद्यालय निर्माण गर्दा काम गरेका कामदार, जग्गा किनेको रकम समेत तिर्न बाँकी रहेको छ । सबैलाई थोरै थोरै मात्र दिइएको छ ।’’ वडा अध्यक्ष बुढाले भन्नुभयो । विद्यालयको ऋण ४० देखि ५० लाखसम्म रहेको उहाँले बताउनुभयो । तत्कालै वडाले र पालिकाले तिर्न सक्ने सम्भावना नभएको भनाई उहाँको छ । 

यस विषयमा प्रदेश सरकारलाई पनि जानकारी गराएको, अर्को शीर्षकमा उपलब्ध भएको बजेटबाट ऋण तिर्न नमिल्ने र श्रमदान बापत स्थानीयबाट चन्दा उठाएर व्यवस्थापन गर्न सकिन्छ कि भनेर सोचेको वडा अध्यक्ष बुढाले बताउनुभयो । आफू जिल्ला बाहिर रहेकाले एक दुई दिन पछि आएर छलफल गर्ने उहाँको भनाई छ । विद्यालय निर्माण गर्दा लागेको ऋण तिर्न वडा कार्यालय सकारात्मक रहेको बुढाले बताउनुभयो । गाउँपालिकाले भने सहमति भइसकेको र विद्यालय बन्द नरहेको जनाएको छ । उक्त विद्यालयमा बाल शिक्षादेखि कक्षा ५ सम्म पठनपाठन भइरहेकाे छ ।

384463208_1358783168046312_2480718962154935911_n1696075077.jpg

383849309_1358781844713111_6344145747882296321_n1696075078.jpg

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update