मुसिकोट नगरपालिका वडा नम्बर १० नमुना बस्ती टोलकी ३१ बर्सिया सुशीला विकको परिवार आफन्तको घरमा बस्न थालेको १३ वर्ष भयो । श्रीमान् अपाङ्ग हुनुहुन्छ । तर पनि भारतमा गएर सकी नसकी रोजीरोटीको लागि श्रम गरिरहनुभएको छ । १ छोरा र १ छोरी सहित सुशीला देवरको घरमा आश्रय लिएर बसेको १३ वर्ष भइसक्यो । तर अव भने सुशीला आफ्ना दिन फेरिएको महसुस गर्नुहुन्छ । जनता आवास कार्यक्रमबाट वडा कार्यालयले घर निर्माण गरिदिएपछि सुशीला दङ्ग हुनुहुन्छ । ३ लाख ५० हजार सरकारले दिएको र त्यसमा केही रकम थपेर सुशीलाले एक तलाको ३ कोठे घर निर्माण गर्नुभएको छ ।
घर निर्माणका लागि ५ लाख खर्च भएको उहाँको भनाई छ । ‘सरकारले ३ लाख ५० हजार दियो, बाँकी रकम हामी आफैँले व्यवस्थापन गरेका हौँ, वर्षौँपछि आफ्नै घर बनेको छ, घर मालिक हुन पाउँदा अति नै खुसी लागेको छ, उहाँले भन्नुभयो ।’ आर्थिक अभावका कारण बासको समेत व्यवस्था गर्न नसक्दा निकै कष्टका साथ दिन रात गुजारेको उहाँ बताउनुहुन्छ । दैनिक ज्याला मजदुरी गरेर अन्नपात, लत्ता कपडाको जोहो गरे पनि राख्ने ठाउँ समेत नभएको र अर्काको घरमा शरण लिएर बस्दा निकै समस्या भएकामा अब भने सहज भएको उहाँको भनाई छ ।
घर, जग्गा नभएका, अर्काको घरमा शरण लिएर बसिरहेका र असुरक्षित रूपमा झुप्रोमा बसोबास गरिरहेका परिवारलाई छनौट गरी शौचालय सहितको तीन कोठे नयाँ घर निर्माण गरिदिएको वडाध्यक्ष धनबहादुर खड्काले बताउनुभयो । टोलबाट छनोट भएर आए अनुसार काम गरिरहेको उहाँले बताउनुभयो । गत वर्ष एक परिवारका लागि घर निर्माण गरिएको उहाँको भनाई छ । यो वर्ष भने अहिलेसम्म यस्तो कुनै कार्यक्रम नरहेको वडाध्यक्ष खड्काले बताउनुभयो । वडामा अझै पनि केही यस्ता परिवार रहेको वडाले जनाएको छ ।