Kakhara सबैको खबर सम्पूर्ण खबर
तत्काल ५ लाख बुझाउने सहमतिमा जनज्योति आविमा लागेकाे ताल्चा खुल्याे 
जनज्योति आवि ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ७ फुक्रुमा रहेको जनज्योति आधारभूत विद्यालयमा पठनपाठन सुरु भएको छ । बुधवार देखि विद्यालयमा व्यापारीले ताल्चा लगाउँदा पठनपाठन प्रभावित भएको थियो । व्यापारी र विद्यालय व्यवस्थापन समितिका विचमा सहमति भएपछि आज विद्यालयको मूल गेटमा लगाइएको ताल्चा खोलिएको हो ।

ताल्चा खुलेसँगै पठनपाठन समेत सुरु भएको प्रधानाध्यापक भिमबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार लक्ष्मी सनराइज बैंकलाई १५ दिनको समय थप्न लगाएर १५ दिन भित्र ५ लाख रकम बुझाउने सहमति भए पश्चात् विद्यालयमा लागेको ताल्चा खोलिएको हो । ५ लाख रकमका लागि स्थानीयवासी र शिक्षकबाट चन्दा उठाइने भएको ।

बाँकी रकम केही समय पछि बुझाउने सहमति भएको प्र अ ओलीले बताउनुभयो । विद्यालय निर्माण गर्दा ल्याएको सामग्रीको रकम नबुझाउँदा सानीभेरी टेड्रर्स एण्ड सप्लायर्सका संचालक शशिराम ओलीको परिवारले बुधवार विद्यालयमा ताल्चा लगाएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update