रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा आयोजना गरिएको साधारण सभा संस्थाको वर्षभरिको प्रगति विवरण सार्वजनिक गर्दै सम्पन्न भएको हो । केन्द्रले विभिन्न साझेदार निकायको सहयोगमा रुकुम पश्चिम र पूर्वका ९ वटै स्थानीय तहहरूमा विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७९/०८० मा रुकुम पश्चिमका ६ वटा स्थानीय तह र रुकुम पूर्वका ३ वटा स्थानीय तहमा विभिन्न ६ वटा परियोजना मार्फत काम गरेको रुकमेली समाज विकास केन्द्रका सचिव केशनकुमार क्षेत्रीयालले जानकारी दिनुभयो ।
उहाँका अनुसार संस्थाले सु आहारा कार्यक्रम, एफएसइसिपी परियोजना, कोभिड १९ को लागि प्रतिकार्य कार्यक्रम, समुदायमा सुरक्षित खानेपानीको लागि प्राविधिक सहयोग कार्यक्रम सञ्चालन गरेको छ । त्यस्तै स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रम र महिलाको क्षमता विकास सम्बन्धी कार्यक्रम पनि सञ्चालनमा रहेको सचिव क्षेत्रीयालले जानकारी दिनुभयो । उक्त परियोजना मार्फत रुकुम पूर्व र पश्चिम गरेर प्रत्यक्ष रूपमा ६१ हजार ८ सय ६३ जना लाभान्वित भएको वार्षिक साधारण सभामा पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।
जसमा महिला १८ हजार ६ सय ३७ र पुरुष ५ हजार ५ सय ७ जना रहेका छन् । त्यसमा दलित २ हजार ९ सय २१, जनजाति १३ हजार १ सय ३१, बालबालिका १३ हजार ५ सय ७५ र अन्य ८ हजार ९२ जना रहेको बताइएको छ। वार्षिक साधारण सभामा संस्थाको आय व्यय पनि सार्वजनिक गरिएको थियो । जसअनुसार संस्थाले संस्थागत तर्फ आर्थिक वर्ष २०७९/८० मा २ लाख ९१ हजार ७ सय ६९, खाद्य सुरक्षा तथा वातावरण मैत्री प्रवर्द्धन कार्यक्रममा ५५ लाख ४७ हजार ७ सय ४, सु आहारा दोस्रो कार्यक्रममा ८७ लाख ७३ हजार ८ सय ४९ रकम खर्च गरेको जनाएको छ ।
त्यस्तै समुदायमा सुरक्षित खानेपानीको लागि प्राविधिक सहयोग कार्यक्रममा १५ लाख ९७ हजार ८ सय २६, कोभिड १९ को लागि प्रतिकार्य कार्यक्रममा ५९ लाख ५८ हजार १ सय ३२ र स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रममा ७३ लाख १६ हजार ९ सय ९८ गरेर संस्थाले जम्मा ३ करोड ८८ लाख ७३ हजार १ सय ४९ रुपैयाँ खर्च भएको प्रगति विवरणमा प्रस्तुत छ । संस्थाले परियोजना सञ्चालन गर्ने क्रममा आवश्यकता अनुसार सरकारी तथा गैरसरकारी निकायसँग जिल्ला देखि स्थानीय तह हुँदै समुदाय स्तरसम्म समन्वय गरी काम गरिरहेको संस्थाका कार्यकारी निर्देशक नरेन्द्र ओलीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले रुकुमेली समाज विकास केन्द्रले सामाजिक काम मार्फत समुदायमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गर्नुभयो । साथै मुसिकोट नगरपालिकाले सामाजिक काममा संघसंस्थाहरु सँग हातेमालो गरिरहेको र आगामी दिनमा पनि तयार रहेको बताउनुभयो । संस्थाका अध्यक्ष नरबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, संस्थाका आजीवन सदस्य, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।