रुकुम पूर्व भूमे गाउँपालिका ६ महतमा नेकपा माओवादी केन्द्रले राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेकाे छ । जनतासँग माओवादी विशेष रूपान्तरण तीन महिने अभियान अन्तर्गत सोमबार आज भूमे ६ महतमा राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम गरिएको हो । माओवादी केन्द्र भूमे ६ वडा समितिको आयोजनामा वडा स्तरीय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम गरिएको हो । सहिद परिवार, घाइते अपाङ्ग, युवा, महिला, किसान तथा आम जनतासँग छलफल गर्ने माओवादी केन्द्रको निर्देशन अनुसार अहिले नेता कार्यकर्ताहरू गाउँ गाउँ तथा जनजनमा आएको स्थायी समिति सदस्य तथा अभियान कार्यक्रमका इन्चार्ज कमला रोकाले बताउनुभयो ।
जनतासँग छलफल कार्यक्रमसँगै सरकारका राम्रा काम र जनताबाट सरकारलाई सुझाव सङ्कलन गर्ने अभियानको मर्म रहेको रोकाले बताउनुभयो । माओवादी देश बनाउने अग्रगामी अभियानमा रहेको बताउनुहुँदै रोकाले त्यसको लागि पहिलो प्राथमिकता सुशासन कायम गर्नु रहेको बताउनुभयो । सुशासन कायम गर्दै तीव्र विकासलाई माओवादीले अगाडी बढाइरहेको रोकाको भनाइ रहेको थियो । पहिलो कुरा सुशासन कायम गर्दै देसलाई समृद्धि तर्फ माओवादी केन्द्र नेतृत्वको सरकारले लगिरहेको उहाँले बताउनुभयो । स्थानीय नेता कार्यकर्ता पनि जीवनस्तर उठाउने खालका काममा जोड्दिनु पर्ने रोकाले सुझाव दिनुभएको छ ।
स्थानीय कृषि उत्पादनमा जोड दिनुका साथै महत गाउँको पर्यटन विकासलाई जोड दिँदै पर्यटकबाट आयआर्जनको लाभ लिनु पर्नेमा रोकाले बताउनुभयो । जनयुद्ध बाध्यता नभएर आवश्यकता भएकोले जनयुद्धकै कारणले नेपालमा गणतन्त्र आएको केन्द्रीय सदस्य दलजित शिर्पालीले बताउनुभयो । जनयुद्ध जनताको न्यायको लागि थियो र आज जनताको हक अधिकार माओवादीले ल्याएको शिर्पालीकाे भनाई छ । माओवादीले ल्याएको उपलब्धिलाई रक्षा गर्दै थप जनताको न्यायका मुद्दामा माओवादी पार्टी मात्र रहेको उहाँले बताउनुभयो । माओवादीले ल्याएको नीतिमै देशको चलिरहेको उहाँले बताउनुभयो ।
त्यस्तै पछिल्लो समयमा माओवादी पनि अरू पार्टी जस्तो हो कि भन्ने परेको र त्यसैलाई चिर्नका लागि तीन महिने अभियान थालिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य राजबहादुर बुढाले बताउनुभयो । माओवादी अरू पार्टी भन्दा फरक रहेको र विकासवादी पार्टी भनेकै माओवादी भएको उहाँको दाबी छ । माओवादी केन्द्र भूमे ६ वडा समितिका अध्यक्ष धनेन्द्र केसीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा तीन महिने अभियानका जिल्ला इन्चार्ज कमला रोकाको प्रमुख आतिथ्यता रहेकोमा विशेष अतिथिमा माओवादी केन्द्रका केन्द्रीय सदस्य दलजित शिर्पाली, राजबहादुर बुढा र मेघबहादुर श्रेष्ठ रहनुभएको थियो । यसै गरी अन्य अतिथिमा प्रदेश सल्लाहकार सदस्य देवबहादुर बुढा, वडा इन्चार्ज कमल बुढा, वडाध्यक्ष विक्रम पुन लगायतको आतिथ्यता रहेकोमा कार्यक्रमको सञ्चालन वडा समिति सचिव कमल बुढाले गर्नुभएको थियो ।