Kakhara सबैको खबर सम्पूर्ण खबर

स्थानीय तहको दोस्रो कार्यकालका लागि जनप्रतिनिधिहरू निर्वाचित भएको १ वर्ष पुरा भइसकेको छ । २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरूले १ वर्षे अवधि पुरा गरेर दोस्रो वर्षमा छन् । यसरी निर्वाचित हुने केही जनप्रतिनिधि अघिल्लो कार्यकाल पुरा गरेर पनि दोहोरिएका छन् भने अधिकांश नयाँ छन् । पहिलो कार्यकालका लागि निर्वाचित भएका जनप्रतिनिधिलाई स्थानीय तहको अभ्यास बिलकुल नयाँ भए पनि हाल निर्वाचित भएका जनप्रतिनिधिलाई भने केही सजिलो देखिन्छ । नयाँ जनप्रतिनिधिको एक वर्षे अवधिलाई समीक्षा गर्ने गरी हामीले जनप्रतिनिधिहरूसँग संवाद गरिरहेको छौँ । जस क्रममा यो अङ्कमा हामीसँग हुनुहुन्छ रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी । हामीले उहाँसँग मुसिकोट नगरपालिकाले १ वर्षमा गरेका काम, आगामी योजना, नगरपालिकाको प्रमुख प्राथमिकता, समस्या तथा चुनौतीका विषयमा संवाद गरेका छौँ । उक्त संवादको सम्पादित अंश यहाँ प्रस्तुत छ...............

एक वर्ष सन्तोषजनक रह्यो । सुरुवातका हिसाबले हामी सन्तुष्ट नै छौँ । सुरुवातको वर्ष भएकोले आवधिक योजना निर्माणमा लाग्यौँ । त्यसअघि आवधिक योजना रहिनछ । जसका कारण कसरी अगाडी बढ्ने, के कुरालाई प्राथमिकता दिने भन्ने लगायतका बारेमा स्पष्ट हुने अवस्था थिएन । आवधिक योजना बनेपछि भने हामी स्पष्ट भएका छौँ । मार्गचित्र बनेको छ । यही मार्गचित्रमा टेकेर हामी अघि बढिरहेका छौँ । ५ वर्षमा के गर्ने भनेर हामीले खाका बनाइसकेका छौँ । मुसिकोट नगरपालिकाकाे विकासका लागि चित्र निर्माण भइसकेको छ अब त्यसलाई पुरा गर्नुपर्ने दायित्व हामी माझमा छ । अहिलेसम्म हामीले गरेका मुख्य कामहरू भन्नुपर्दा विपन्न नागरिक र सुत्केरी र गर्भवतीलाई जिल्लाबाहिर रेफर गर्दा निःशुल्क एम्बुलेन्स सेवा दिइरहेका छौँ । दीर्घ रोगीलाई उपचार सहुलियत दिइरहेका छौँ । अटो रिक्सा सञ्चालन अनुमति दिएका छौँ । यसले धेरै सहज भएको छ । अन्त्येष्टिका लागि निःशुल्क दाउराको व्यवस्था गरिएको छ । ८ वटा वडा कार्यालयमा ब्याट्री व्याकअप र इन्टरनेटको व्यवस्था गरेका छौँ । सडक बत्ती राख्नुका साथै सरसफाइकर्मीको व्यवस्था गरेका छौँ । नगर अस्पताल निर्माणको तयारी सुरु भएको छ । यसका लागि ४० लाख बजेट छ । अस्पतालका लागि ठाउँको खोजी भइरहेको छ । यसअघि बन्द भएको एउटा सरकारी विद्यालय पुनः सञ्चालन गरेका छौँ । वडा नम्बर ३ बाट ट्रायलको रूपमा न्यूनतम बिद्युत् महसुल निःशुल्क गरेका छौँ ।  

बजेट अभावले भनेजस्तो गर्न सकिएको छैन 
स्थानीय तहमा धेरै कुरा बजेटले निर्धारण गर्दो रहिछ । भने जति बजेट नहुँदा भने जति काम गर्न नसकिएको सत्य हो । गत वर्ष वडामा धेरै बजेट थियो । तर यो वर्ष वडामा जाने बजेट धेरैले घटेको छ । अघिल्लो वर्ष करोडभन्दा बढी बजेट वडामा गएकामा यो वर्ष जम्मा ४० लाखको हाराहारीमा बजेट वडामा गएको छ । यसले गर्दा वडामा धेरै काम गर्न सकिने अवस्था छैन । सानो बजेट भएका कारण सीमित योजना छन् तर जनताका अपेक्षा भने असीमित छन् । यो वर्ष सहरी शासकीयको बजेट नआउँदा वडाको बजेट घटेको हो । गत वर्ष सहरी शासकीयबाट धेरै काम भएका थिए । 

हामीले वडा नम्बर ८ र १० लाई अर्ग्यानिक क्षेत्रका रूपमा अघि बढाइरहेका छौँ । उक्त वडामा आलु, लसुन, मसला बालीलाई प्रोत्साहन गरेका छौँ । अन्य वडामा पनि अर्ग्यानिक उत्पादनलाई जोड दिइरहेका छौँ ।

पर्यटन पनि प्रमुख प्राथमिकतामा छ 
मुसिकोट नगर आफैमा पनि पर्यटकीय हिसाबले महत्त्वपूर्ण र सम्भावनायुक्त छ । हाम्रोमा ठुली दह छ, साँख दह छ, डिग्रे साइकुमारी मन्दिर छ, मुसिकोट डाँडा दरबार छ । अन्य पर्यटकीय सम्भावनायुक्त ठाउँहरू पनि छन् । तिनको विकास कसरी गर्न सकिन्छ भनेर हामी लागिपरेका छौँ । गत वर्ष विशेष गरी ठुली दहमा ठुलो रकम खर्च भएको छ । जलवायु परिवर्तन सहयोग कार्यक्रमबाट ठुली दह जाने बाटो मर्मत लगायतका थुप्रै काम भएका छन् । साँख दहको संरक्षण भएको छ । साँख दह व्यवस्थित हुनुका साथै थप हेर्न लायक भएको छ । 

पार्किङको समस्या हल गर्न बहुतले पार्किङ भवन बन्दै छ
मुसिकोट क्षेत्र डाँडामा भएका कारण यहाँ फराकिलो भूभाग धेरै छैन । खचाखच घरहरू भरिएका छन् । बाटो साँघुरो छ । दैनिक यातायातका साधन बढ्दो क्रममा छन् । जसका कारण मुसिकोटमा पार्किङको समस्या धेरै छ । हामी निर्वाचित भएर आएदेखि पार्किङको समस्यालाई हल गर्ने गरी लागेका छौँ । पार्किङको समस्यालाई कम गर्न मुसिकोट खलङ्गाको सहिद मैदानमा बहुतले पार्किङ भवन निर्माण हुँदै छ । गत वर्ष हामीले डिपिआर गर्‍यौँ यो वर्ष ७० लाख बजेट आएको छ । यसमा कुल १ करोड ७० लाख बजेट खर्च हुँदै छ । वडा नम्बर १ को भेरीमा व्यवस्थित बसपार्क निर्माणको काम पनि चलिरहेको छ । यसले पनि मुसिकोटमा ट्राफिक व्यवस्थापनमा सहजता हुने विश्वास गरिएको छ ।  

अघिल्लो सरकारका पालामा मुसिकोटमा विभिन्न उद्योगहरू स्थापना भएका छन् । विभिन्न कारणले ती उद्योगहरू सञ्चालनको अवस्थामा छैनन् । उद्योग सञ्चालनका लागि के समस्याहरू छन् तिनको पहिचान गरेर हामी नगरमा भएका सबै उद्योग सञ्चालन गर्ने योजनामा छौँ ।

फोहोर व्यवस्थापनको समस्या पनि हल हुँदै छ 
पार्किङसँगै मुसिकोटमा फोहोर व्यवस्थापनको समस्या पनि उत्तिकै छ । अहिले डम्पिङ साइट रहेको वडा नम्बर २ को सतिपोलेमा दीर्घकालीन रूपमै फोहोर व्यवस्थापन गर्ने अवस्था देखिन्न । त्यस कारण हामीले त्यसको विकल्प खोजेका छौँ । वडा नम्बर १ को निपानेमा डम्पिङ साइट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन गरेर फोहोर व्यवस्थापनको काम भइरहेको छ । अहिले फोहोर फाल्दै आएको सतिपोलेलाई जीप र मिनिबस पार्कका रूपमा विकास गर्दै छौँ ।  

अर्ग्यानिक उत्पादनलाई प्रोत्साहन गर्छौँ 
मुसिकोट सदरमुकाम भए पनि यहाँ धेरै गाउँहरू छन् । जहाँ अर्ग्यानिक वस्तुहरू उत्पादन भइरहेको छन् । हामीले वडा नम्बर ८ र १० लाई अर्ग्यानिक क्षेत्रका रूपमा अघि बढाइरहेका छौँ । उक्त वडामा आलु, लसुन, मसला बालीलाई प्रोत्साहन गरेका छौँ । अन्य वडामा पनि अर्ग्यानिक उत्पादनलाई जोड दिइरहेका छौँ । सदरमुकामलाई आवश्यक पर्ने कृषि उपज नगरमै उत्पादन गर्ने गरी लागिरहेका छौँ । त्यो पनि अर्ग्यानिक । खलङ्गामा तरकारी सङ्कलन केन्द्र सञ्चालन गर्दै छौँ । बागबजारमा भवन पहिले नै बनिसकेको छ र अव त्यसलाई सञ्चालन गर्नका लागि पहल भइरहेको छ । कार्यविधि बनिसकेको छ । यहाँ पुगेर उब्रिएको तरकारी भने बाहिर पठाउने गरी सोचिरहेका छौँ । समग्रमा नगरका तीन ठाउँमा सङ्कलन केन्द्र निर्माण हुँदै छन् । वडा नम्बर ३ मा उत्पादित खुर्सानी, काउली लगायतका तरकारीलाई अचार बनाएर प्याकिङ गरेर बजारमा पठाउने गरी काम सुरु भएको छ । यो सफल भएमा अन्य वडामा पनि विस्तार गर्छौँ । 

यो वर्ष हामीले सबै योजना चैत्रसम्म कार्यान्वयन गरिसक्ने गरी डेट लाइन बनाएका छौँ । चैत्रसम्म योजना सकेर वैशाख र जेठमा अनुगमन तथा भुक्तानी गर्ने हाम्रो योजना छ ।

अलपत्र उद्योगलाई सञ्चालन गर्छौँ 
अघिल्लो सरकारका पालामा मुसिकोटमा विभिन्न उद्योगहरू स्थापना भएका छन् । विभिन्न कारणले ती उद्योगहरू सञ्चालनको अवस्थामा छैनन् । उद्योग सञ्चालनका लागि के समस्याहरू छन् तिनको पहिचान गरेर हामी नगरमा भएका सबै उद्योग सञ्चालन गर्ने योजनामा छौँ । एकतिर राज्यको थुप्रै लगानी भइसकेको छ भने अर्कोतिर रोजगारी नपाएर युवाहरू भौँतारिरहेका अवस्थामा उद्योग सञ्चालन गरी रोजगारी सृजना गर्ने लक्ष हाम्रो छ । आवश्यकताका आधारमा हामी अन्य उद्योगहरू खोल्ने तयारीमा समेत छौँ । विभिन्न उद्योगहरू मार्फत नै मुसिकोटको बेरोजगारीलाई कम गर्न सकिनेमा हामी एकमत छौँ । साथै सीप विकासका कार्यक्रमहरू बनाएका छौँ । यसबाट क्षमता विकास तालिम लगायतका कार्यक्रमहरू सञ्चालन हुन्छन् । अहिलेसम्म हामीले मुडा बनाउने, मसला बनाउने, ढाँका बुनाई लगायतका तालिम दिइसकेका छौँ । अर्को कुरा हामी एकीकृत कृषि उपज बिक्री केन्द्र सञ्चालन गर्दै छौँ । यसबाट नगरमा उत्पादित सबै कृषि उपजहरू बिक्री हुने छन् । नगरमा उत्पादित कृषि उपज खेर नजाओस् भन्नेमा हामी गम्भीर छौँ । 

आवश्यक योजना निर्माणमा ध्यान गएको छ 
नगर विकासका लागि आवश्यक योजना निर्माणमा ध्यान केन्द्रित गरेका छौँ । योजनाको डिपिआर गर्ने र बजेट माग गर्ने गरी काम भइरहेको छ । नगरपालिकाले डिपिआर मात्र गर्‍यो भन्ने गुनासो पनि छ तर हामी डिपिआर नभईकन काम गर्दै सक्दैनौँ, बजेट माग गर्न सकिँदैन । त्यस कारण के के कुराहरू सम्भव छ त्यसको डिपिआर गर्ने र प्रदेश तथा सङ्घमा बजेट माग गर्ने काम भइरहेको छ । हामीले गत वर्ष बहुतले पार्किङ भवनको डिपिआर गर्‍यौँ, त्यसका आधारमा बजेट माग्यो र यो वर्ष बजेट पर्‍यो । त्यसरी नै हामी अन्य योजना बनाउने र बजेट माग गर्ने गरी लागिपरेका छौँ । 

अपुरा योजना प्राथमिकतामा छन् 
नगरमा यसअघिबाटै सञ्चालनमा रहेका तर अपुरो अवस्थामा रहेका साना ठुला सबै योजनाहरूलाई नगरपालिकाले प्राथमिकता दिएको छ । त्यसैअन्तर्गत वडा नम्बर ३ को धैरेनीचौरमा निर्माणाधीन खेलमैदानका लागि यो वर्ष ८० लाख बजेट आएको छ । वडा नम्बर ६ को खेलमैदानलाई पनि सक्ने गरी लागेका छौँ । १० औँ खेलकुद भन्दा अघि काम सक्ने गरी ताकेता गरिरहेका छौँ । अन्य अलपत्र र अधुरा योजनालाई सक्नका लागि पनि बजेट माग गर्ने काम भइरहेको छ । सबै अधुरा र अपुरा योजनामा हाम्रो ध्यान केन्द्रित छ । 

अहिलेसम्म कुनै पनि निर्णय बहुमतका आधारमा भएको छैन । कसैले पनि नोट अफ डिसेन्ट लेख्नुभएको छैन । आ आफ्ना असहमति होलान् तर सबै निर्णय सहमतिकै आधारमा भएका छन् । सहमतिमै भएका निर्णय वा काम दिगो हुन्छ भन्नेमा हामी सबै जानकार छौँ ।

चैत्रसम्म सबै योजना सम्पन्न गर्छौँ 
निर्वाचित भएर आएपछि म र मेरो टिमले असारमा हुने विकासलाई रोक्ने प्रयास गरेका छौँ । अघिल्लो वर्ष यसमा हामी धेरै हदसम्म सफल पनि भयौँ । जसका कारण यो वर्षका लागि भुक्तानी सरेर आउने रकम शून्य छ । यो वर्ष हामीले सबै योजना चैत्रसम्म कार्यान्वयन गरिसक्ने गरी डेट लाइन बनाएका छौँ । चैत्रसम्म योजना सकेर वैशाख र जेठमा अनुगमन तथा भुक्तानी गर्ने हाम्रो योजना छ । यो वर्ष हामी असारमा काम गर्नुपर्ने अवस्थामा हुने छैनौँ । सङ्घ र प्रदेशका योजनामा भने अहिले नै भन्ने अवस्था छैन । 

सबैका भावना समेटेर काम भइरहेको छ 
हाम्रो नगर सभामा चार वटा दल नेपाली काँग्रेस, माओवादी, समाजवादी र एमालेको प्रतिनिधित्व छ । हामीले काम गर्दा अल्पमत वा बहुमतको आधारमा गर्ने गरेका छैनौँ । सबैका भावनालाई समेटेर सर्वस्वीकार्य रूपमा काम गर्ने प्रयास गरिरहेको छु । मैले पनि नगर प्रमुख म हो भनेर पेलेको छैन, माओवादीका साथीहरूले पनि हाम्रो बहुमत छ भनेर अप्ठेरो पार्ने काम गर्नुभएको छैन । सबै मिलेर काम गरिरहेका छौँ । अहिलेसम्म कुनै पनि निर्णय बहुमतका आधारमा भएको छैन । कसैले पनि नोट अफ डिसेन्ट लेख्नुभएको छैन । आ आफ्ना असहमति होलान् तर सबै निर्णय सहमतिकै आधारमा भएका छन् । सहमतिमै भएका निर्णय वा काम दिगो हुन्छ भन्नेमा हामी सबै जानकार छौँ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update