Kakhara सबैको खबर सम्पूर्ण खबर
राष्ट्रपति रनिङ शिल्डः २ स्थानीय तहमा संचालन, २ मा संचालन हुँदै
सानीभेरी गाउँपालिकामा आयोजित शिल्डमा कला प्रदर्शन गर्दै विद्यार्थीहरु ।

रुकुम पश्चिमका स्थानीय तहहरुले राष्ट्रपति रनिङ शिल्ड संचालन गरिरहेका छन् । अहिलेसम्म चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाले शिल्ड संचालन गरिसकेका छन् । अन्य दुई स्थानीय तहले पनि शिल्डको मिति तोकेका छन् ।आठबीसकोट नगरपालिकाले चैत्र २२ देखि शिल्ड संचालन गर्दै छ भने मुसीकोट नगरपालिकाले चैत्र २७ गते देखि ३१ गतेसम्म शिल्ड संचालन गर्ने जनाएको छ । आठबीसकोटमा वडा ४ गोतामकोटको ज्ञानोदय मावि चौतारको व्यवस्थापन र मुसीकोटमा वडा नं. १ को त्रिभुवन जनता माविको व्यवस्थापनमा शिल्ड संचालन हुँदै छ । 

यि दुई स्थानीय तहमा शिल्ड संचालन भए जिल्लामा शिल्ड संचालन गर्न बाँकी दुई स्थानीय बाँकी रहने छन् । बाँफिकोट र त्रिवेणि गाउँपालिका मध्ये त्रिवेणि गाउँपालिकाले यो वर्ष शिल्ड संचालन नगर्ने जानकारी गराएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख छविलाल केसीले जानकारी दिनुभयो । गत वर्ष शिल्डमा सहभागि भई फर्किने क्रममा ट्याक्टर दुर्घटना हुँदा वडा नं. ४ को अन्धनाशक मावि खुम्चेरीका एक छात्रको मृत्यु भएको थियो । सोही कारण गाउँपालिकाले यो वर्ष शिल्ड नगर्ने जानकारी गराएको उहाँको भनाई छ । बाँफिकोट गाउँपालिकाले पनि निर्णय गरिसकेको छैन् । 

कार्यपालिका बैठक बोलाईएको र उक्त बैठकले यसबारेमा निर्णय गर्ने गाउँपालिका अध्यक्ष धर्मवहादुर केसीले जानकारी दिनुभयो । यसैविच यसपटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड समेत संचालन गर्ने तयारी भइरहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जिल्ला स्तरीय शिल्ड संचालनका लागि कम्तिमा पनि ३ वटा स्थानीय तहले शिल्ड संचालन गर्नुपर्ने व्यवस्था रहेको र यो वर्ष जिल्ला स्तरीय शिल्ड संचालन गरिने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख छविलाल केसीले बताउनुभयो । यसबारेमा छिट्टै निर्णय हुने उहाँको भनाई छ । 

स्थानीय तह बनेपछि जिल्ला स्तरीय शिल्ड संचालन हुन सकेको छैन् । यसपटक शिल्ड संचालन भए जिल्लामा स्थानीय तह बनेपछि पहिलो तथा समग्रमा १२ औं शिल्ड हुने छ ।  
 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update