रुकुम पश्चिमको मुसिकोट खलङ्गामा रहेको त्रिभुवन जनता माविका शिक्षक तथा कर्मचारीहरूले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कारबाहीको माग गरेका छन् । विव्यस अध्यक्ष नरेन्द्र केसीले विद्यालयको शैक्षिक तथा प्रशासनिक वातावरण बिगारेको भन्दै बहुमत शिक्षक तथा कर्मचारीहरूले मुसिकोट नगरपालिकालाई पत्र लेख्दै कारबाहीको माग गरेका हुन् ।
मुसिकोट नगर शिक्षा ऐन अनुसार गठित विव्यस अध्यक्ष केसीले यस त्रिभुवन जनता माध्यमिक विद्यालय, मुसिकोट खलङ्गामा आफ्ना निहित स्वार्थ सिद्ध गर्ने उद्देश्यले विद्यालयको शैक्षिक प्रशासनिक वातावरणमा प्रतिकूल प्रभाव पार्ने गरी कार्य गरेकोले आफ्नो पदीय आचरण उलङ्घन गर्ने काम गरेकोले केसीलाई नगर शिक्षा नियमावली २०७४ को नियम ३२ मा व्यवस्था भएअनुसार अध्यक्ष सहित विव्यस विगठन गरी अध्यक्षलाई नियमानुसार आवश्यक कारबाही गर्न अनुरोध छ नगरपालिकालाई लेखिएको पत्रमा उल्लेख छ ।
शिक्षक कर्मचारीहरूले नगरपालिकामा बुझाएको पत्रमा १५ बुँदामा विव्यस अध्यक्ष केसीले पदीय आचरण उल्लङ्घन गरेको उल्लेख गरिएको छ । केसीले विव्यस तथा विद्यालयमा कार्यरत शिक्षकहरूको संयुक्त बैठकमा सामान्य भनसुनलाई लिई विद्यालयको लेटर हेड र छाप अनधिकृत रूपमा प्रयोग गरी मुद्दा हाल्ने काम गरेको, शैक्षिक मैत्री वातावरण बनाउन नसकेको, पुराना फाइल तथा अभिलेखहरू खोजी गर्दै मुद्दा हाल्ने काम गरेको शिक्षक तथा कर्मचारीहरूको भनाई छ ।
विद्यालयमा कार्यरत कर्मचारीहरूलाई आतङ्कित गर्दै राजीनामा माग गरेको, तत्कालीन उमाविको रिक्त शिक्षक कोटामा करिब १ वर्ष सम्म पनि नयाँ शिक्षक भर्ना नगरी विद्यालयलाई करिब ८ लाख घाटा पारेको, समयमै विव्यसको बैठक बसाउन अनुरोध गर्दागर्दै पनि बैठक नवसाली सिटिइभिटी तर्फको अनुदान रकम ६ लाख घाटा पारेको, फर्जी अभिभावक बनी विव्यसको अध्यक्ष बनेको शिक्षक कर्मचारीहरूको आरोप छ ।
त्यस्तै विद्यालयको नियमित सञ्चालन प्रक्रियामा लेखा अवरुद्ध गरेको, सामाजिक लेखा परीक्षण नभई अन्तिम लेखा परीक्षण गराएको, विभिन्न उपसमिति गठन गरी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई मनोवैज्ञानिक रूपले तनावग्रस्त तुल्याएको, प्रशासनिक हस्तक्षेप गरेको र एकाधिकारवादी शैलीबाट विव्यस र विद्यालयमा प्रस्तुत भएको समेत शिक्षक कर्मचारीले नगरपालिकालाई लेखेको पत्रमा भनिएको छ ।
वडा सरकार लगायतसँग समन्वय नगरेको, विद्यालयको ७१ औँ वार्षिकोत्सव मनोमानी ढङ्गले सञ्चालन गरेको र वार्षिकोत्सवमा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन विव्यसमा छलफल र प्रअसंग समन्वय नै नगरी मनोमानी ढङ्गले प्रस्तुत गरेको पनि शिक्षक कर्मचारीको आरोप छ । विद्यालयमा असहज अवस्था सृजना भएपछि बाध्य भएर नगर सरकारलाई गुहार्न बाध्य भएको नाम नबताउने सर्तमा एक जना शिक्षकले बताए ।
नगरपालिकामा बुझाइएको पत्रमा ३२ शिक्षक कर्मचारी मध्ये २८ जनाले हस्ताक्षर गरेको बताइएको छ । कखरालाई प्राप्त पत्रमा २३ जना शिक्षक कर्मचारीले हस्ताक्षर गरेका छन् । ५ जनाले भने नगरपालिकामा पत्र बुझाउने क्रममा हस्ताक्षर गरेको स्रोतले जनाएको छ । शिक्षक, कर्मचारीका तर्फबाट कारबाहीको पत्र आएको नगरपालिका स्रोतले पुष्टि गरेको छ । ‘पत्र आएको छ, के गर्ने भनेर छलफलमै छ नगरपालिका स्रोतले भन्यो ।’
शिक्षकहरूको पत्रको कुनै कानुनी अर्थ छैनः अध्यक्ष केसी
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले भने शिक्षक कर्मचारीहरूले हस्ताक्षर गरेर नगरपालिकामा बुझाएको भनिएको पत्रको कुनै कानुनी अर्थ नभएको दाबी गर्नुभएको छ । विद्यालय व्यवस्थापन समिति गठन वा विगठनमा शिक्षक कर्मचारीको सहमति वा असहमतिले कुनै अर्थ नराख्ने उहाँले बताउनुभयो । ‘विव्यस विगठनका लागि मुख्य गरी आर्थिक हिनामिना गरेको, विद्यालयको सम्पत्ति दुरुपयोग गरेको वा शैक्षिक वातावरणलाई अस्तव्यस्त पारेको हुनुपर्यो नि, हामीले अथवा मैले व्यक्तिगत रूपमा कहाँनेर गल्ती गरे प्रमाण सहित आउनुपर्याे नि, अनावश्यक कसैको लहलहैमा लागेर हस्ताक्षर गरेको कुराले केही अर्थ राख्दैन’ उहाँले भन्नुभयो ।
साथै उहाँले विद्यालय व्यवस्थापन समितिमा आफूले कुनै पनि निर्णय व्यक्तिगत रूपमा नगरेको स्पष्ट पार्नुभयो । ‘हामीले जे निर्णय गरेका छौँ सबै सहमतिमा वा बहुमतका आधारमा सामूहिक रूपमा भएका छन्, उहाँले भन्नुभयो–यसमा अध्यक्षको मात्र व्यक्तिगत निर्णय केही छैन ।’ विद्यालयको सुधारका लागि काम गर्दा आफुमाथि चौतर्फि प्रहार भइरहेको समेत उहाँको भनाई छ