सहकर्मी समाज रुकुम पश्चिमले आयोजना गरेको हाम्रा कुरा हाम्रा मुख्यमन्त्री सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले सम्बन्धित निकायहरूलाई आफ्ना गुनासाहरू पोखेका छन् । बुधवार मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा मुसिकोट नगरपालिका र जिल्लास्थित विभिन्न विषयगत सरकारी कार्यालयहरूलाई सहभागीहरूले गुनासाहरू पोखेका हुन् ।
रुकुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले जिल्लामा हावा लागेपछि विद्युत् अवरुद्ध हुन्छ, विद्युत् सेवा नियमित हुन सकेको छैन यसको कारण के हो ? भन्दै प्रश्न गर्नुभयो । खलङ्गामा पिउने पानी शुद्ध छैन, पानीको महसुल चर्को तिर्नुपरेको छ, पितिवाङ खोला पुल कहिले बन्छ भन्ने प्रश्न पनि उहाँको थियो ।
अर्का सहभागी मुसिकोट १४ का दिपेन्द्रराज विष्टले मुसिकोट नगरपालिकाले मध्य पहाडी लोक मार्ग अन्तर्गत वडा नम्बर ३ खरखरेमा अवैध गिट्टी उत्खनन रोक्न नसकेको गुनासो गर्नुभयो । स्वास्थ्य संस्थाबाट निःशुल्क पाउनु पर्ने ९८ प्रकारका औषधी मध्ये गाउँतिर औषधी नै पाउन मुस्किल भएको समेत उहाँको गुनासो थियो ।
त्यस्तै चन्द्र बुढाले मुसिकोट नगरपालिका वडा नम्बर १ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको लडाइका कारण पठनपाठनमा असर परिरहेको तर्फ सचेत गराउनुभयो । निजी विद्यालयहरूले विद्यार्थीहरूबाट चर्को शुल्क लिइरहेको तर्फ उहाँले नगरपालिकाको ध्यानाकर्षण समेत गराउनुभयो ।
मुसिकोट नगरपालिकाको बजार क्षेत्र कुरूप बन्दै गएकाले बजार क्षेत्र सुन्दर र सफा बनाउन तथा परम्परालाई जोगाउन नगरपालिकाको ध्यान जान आवश्यक रहकोमा पत्रकार महेश केसीको सुझाव थियो । सहभागीका तर्फबाट उठेका प्रश्नमा मुसिकोट नगरपालिकाका उप प्रमुख विमलकुमार पुनले जवाफ दिनुभएको थियो ।
उहाँले मुसिकोट नगरपालिका नगरवासीलाई सहज सेवा दिन सचेत रहेको बताउनुभयो । केही कमी कमजोरी होलान् त्यसमा पनि सच्चिएर अगाडी बढ्छौँ, उपप्रमुख पुनले भन्नुभयो, हामी नगर विकासकै लागि केन्द्रित छौँ । खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात क्षेत्रको सुधार तथा अवैध उत्खननलाई रोक्न नगरपालिका गम्भीर रहेको उहाँको भनाई थियो ।
त्यस्तै विषयगत रूपमा उठेका प्रश्नहरूको जवाफ विषयगत कार्यालयका प्रमुखहरूले दिएका थिए । नेपाल विद्युत् प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख शिवजीप्रसाद साहले विभिन्न कारणले विद्युत् सेवा नियमित गर्न नसकिएको र यसतर्फ गम्भीर भएर लागेको बताउनुभएको थियो ।
जिल्ला भित्रको समस्या भन्दा पनि नेपालगन्जको कोहलपुर, दाङको हापुरे र सल्यानको कपुरकोट लगायतका ठाउँमा आउने समस्याका कारण जिल्लामा विद्युत् अनियमित भइरहेको उहाँको भनाई थियो । कर्णाली प्रदेश सरकारको गुनासो सुनुवाइ संयन्त्रमा नागरिक र स्थानीय सरकार बिच सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रदेश सरकारलाई कसरी गुनासो राख्ने, सम्बोधन कसले गर्छ भन्ने बारेमा हाम्रा कुरा हाम्रा मुख्यमन्त्री कार्यक्रम तथा नागरिक गुनासो सुनुवाइ कार्यक्रमका संयोजक खड्कप्रसाद रेग्मीले जानकारी गराउनुभएको थियो ।
युएनडिपीको आर्थिक सहयोग, कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालय तथा सहकर्मी समाज रुकुम पश्चिमको सहकार्यमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण पत्रकार राजु लामिछाने गर्नुभएको थियो । यो कार्यक्रम कर्णालीको दश वटै जिल्लामा सञ्चालनमा रहेको बताइएको छ ।