Kakhara सबैको खबर सम्पूर्ण खबर
‘जनक–सुधन’स्मृति रनिङ शिल्ड महिला, पुरुष भलिबल प्रतियोगिताको शिल्ड सार्वजनिक 
शिल्ड सार्वजनिक गर्दै अध्यक्ष तेजविक्रम बुढा ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गाको बराहटाकुरामा असोज २० गते शनिवार देखि हुन लागेको ‘जनक–सुधन स्मृति रनिङ शिल्ड महिला पुरुष भलिबल प्रतियोगिता’को शिल्ड सार्वजनिक गरिएको छ । आज खलङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी महिला पुरुष तर्फको शिल्ड सार्वजनिक गरिएको हो । 

उक्त शिल्ड कब्जा गर्नका लागि एक टिमले लगातार तीन वर्ष उपाधि जित्नुपर्ने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम विएमले जानकारी दिनुभयो । ‘विजेता टिमलाई नगद पुरस्कारका साथमा कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ, उहाँले भन्नुभयो–शिल्ड कब्जा गर्नका लागि भने लगातार तीन वर्ष विजेता बन्नुपर्ने हुन्छ ।’ 

प्रतियोगिताको सबै तयारी पुरा भइसकेको उहाँले बताउनुभयो । प्रतियोगितामा २५ बढी टिमको सहभागिता रहने देखिएको उहाँले बताउनुभयो । ‘रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, बागलुङ, सुर्खेत लगायतका जिल्लाबाट सम्पर्क गरिरहनुभएको छ, प्रतियोगितामा २५ बढी टिम हुने देखिन्छ उहाँले भन्नुभयो ।’ 

प्रतियोगिता अन्तर्गत पुरुष तर्फको विजेताले नगद १ लाख ५१ हजार, रनिङ्ग शिल्ड, कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने अध्यक्ष बिएमले बताउनुभयो । उहाँका अनुसार उपविजेताले नगद १ लाख १ हजार, कप, मेडल र प्रमाण–पत्र पाउँदा तृतीय स्थान हासिल गर्ने टिमले नगद ५१ हजार कप, मेडल र प्रमाण–पत्र पाउने छन् । 

Volleyball 11696504127.jpg
शिल्ड ।

विभिन्न विधागत तर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । वेस्ट प्लेयरले १५ हजार बराबरको स्मार्ट फोन पाउँदा, उदयमान खेलाडी, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट स्पाइकर र वेस्ट सर्भरले समान २ हजार ५ सयका साथमा कप, मेडल र प्रमाण–पत्र पाउने आयोजकले जनाएको छ । 

त्यस्तै महिला तर्फको विजेताले नगद ५१ हजार, रनिङ्ग शिल्ड, कप, मेडल र प्रमाण–पत्र पाउने छ । उपविजेताले नगद ३१ हजार तथा तेस्रो हुने टिमले नगद २१ हजार कप, मेडल र प्रमाणपत्र पाउने बताइएको छ । महिलाको विधागत तर्फ वेस्ट प्लेयरले नगद ५ हजार तथा उदयमान खेलाडीले नगद २ हजार कप, मेडल र प्रमाण–पत्र पाउने अध्यक्ष बुढाले बताउनुभयो । खेल शुद्ध वडा स्तरीय हुने छ उहाँले बताउनुभयो ।

पूर्व खेलाडी द्वय जनक शाह र सुधन श्रेष्ठको सम्झनामा प्रतियोगिता आयोजना गरिएको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम विएमले जानकारी दिनुभयो । शाह र श्रेष्ठको गाडी दुर्घटनामा मृत्यु भएको थियो ।

भलिबल प्रशिक्षण केन्द्रले विभिन्न प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको छ । केही महिना अघि मात्र केन्द्रले कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता सञ्चालन गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update