रुकुम पश्चिममा डोजर (एक्स्काभेटर)को ठक्करबाट घाइते भएका एक बालकको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर १० घन्ठानाका भरतबहादुर खड्काका ६ वर्षीय छोरा चन्द्रलाल खड्काको मृत्यु भएको हो । आज दिउँसो साढे १ बजे विद्यालयबाट घर फर्कने क्रममा उनलाई डोजरले सानीभेरी गाउँपालिकाको वडा नम्बर ९ सिम्लीबाट अर्मा तर्फ जाने भित्री सडक खण्डमा ठक्कर दिएको थियो । त्यस पश्चात् उनलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्याइएकाे थियो ।
उपचारको क्रममा बालकको साँझ ५:३७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धमेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बा ०१००३ क ९१३० नम्बरको डोजरले बालकलाई ठक्कर दिँदा उनको बायाँ खुट्टा र कम्मरदेखि तलको भाग च्यापिएकोले थियो । डोजर चालक सानीभेरी गाउँपालिका वडा नम्बर ८ का २३ वर्षीय धनेशकुमार ओली र डोजर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।