रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सेवा विस्तार गरेको छ । चौरजहारी नगरपालिकाको मुख्य बजारको बसपार्कदेखि १२ नम्बर वडाको जुम्लिपोखरी सम्म नगर बस सेवा सञ्चालन भएको छ । नगरपालिका आफैले खरिद गरी आफै सञ्चालन गर्दै आएको नगर बस आज जुम्लिपोखरी लिएर बस सेवा सञ्चालनको उद्घाटन गरिएको छ ।
नगरप्रमुख विशाल शर्माले चौरजहारी–जुम्लिपोखरी नगर बस सेवाको उद्घाटन गर्नुभयो । विभिन्न सेवा, उपचार, बजार तथा अरु कामका लागि चौरजहारी आउनुपर्ने नगरबासीलाई लक्षित गर्दै नगरपालिकाले नगरमा ३ वटा नगर बस सञ्चालन गरेको छ । नगरभर नगर बस सेवा अन्तर्गत १२ नम्बर वडाको जुम्लिपोखरी सम्म बस सेवा सञ्चालन भएको नगरप्रमुख शर्माले बताउनुभयो ।
विहान जुम्लीपोखरीबाट चौरजहारीका लागि बस छुट्ने छ भने बेलुका चौरजहारीबाट जुम्लिपोखरीका लागि नगर बस छुट्नेछ । बसपार्कबाट नगरपालिका, कोटजहारी, न्याउली हजार हुँदै नगर बस जुम्लिपोखरीसम्म चल्न सुरु भएको छ । नगरपालिकाले सबै रुट मार्फत अब नगर बस सबैतिर पुगेको जनाएको छ ।
नगरप्रमुख शर्माले नुवाकोट–खोलागाउँ–चौरजहारी एउटा रुट, चौरजहारी–खागल–जुम्लिपोखरी अर्को रुट र चौरजहारी–लहरेसिमल–खोलागाउँ अर्को रुटमा नगर बस चलिरहेको बताउनुभयो । वडानम्बर १, २, ४,५, र १० मा एउटा लामो रुट कामय भएको छ । वडानम्बर २, ३, ७,९, ६ र १२ भेटाउने गरी अर्को रुटमा नगर बस गुड्छ भने वडा नम्बर १,२,३,७,६,११,१३ र १४ मा पुग्ने गरी नगर बसको रुट कायम गरिएको छ ।
यी नै रुटबाट गुड्ने नगर बसले नगरका सबै जनतालाई सजिलो भइरहेको नगरप्रमुख शर्माले बताउनुभयो । बाँकी छोटा छोटा रुट मार्फत पनि नगर बस मार्फत जनताले यातायात सुविधा लिइरहेको नगरप्रमुख शर्माले बताउनुभयो । नगरपालिकाले सहुलियत भाडादरमा नगरबस सञ्चालन गरिरहेको छ ।