सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै रुकुम पश्चिममा छ वटै स्थानीय तहका कर्मचारीहरूले अनिश्चित कालीन ‘पेन डाउन’ गरेर आन्दोलित भएका छन् । केन्द्रीय कार्यक्रम अनुसार जिल्लाका ६ वटै स्थानीय तहका कर्मचारीहरूले विभिन्न मागहरू राखेर अनिश्चित कालीन ‘पेन डाउन’ गरेर आन्दोलित भएका हुन् । अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरेर आजबाट विद्ययकको विरोध जनाएको त्रिवेणी गाउँपालिका सङ्घर्ष समितिका संयोजक खिमबहादुर ओलीले जानकारी दिनुभयो । साथै माग सहितको ज्ञापन पत्र प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीलाई बुझाएको उहाँले बताउनुभयो ।
त्यस्तै आठबीसकोट नगरपालिकामा पनि कर्मचारीहरूले हातमा कालो पट्टी बाँधेर पेन डाउन गर्दा सेवा प्रवाह गर्न समस्या भएको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताउनुभयो । जिल्लाको बाँफिकोट गाउँपालिका, सानीभेरी गाउँपालिका, मुसिकोट नगरपालिका र चौरजहारी नगरपालिकामा पनि स्थानीय तहका कर्मचारीहरूले अनिश्चित कालका लागि पेन डाउन गरेर सेवा अवरुद्ध गरेका छन् ।
सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तर स्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग स्थानीय तहका कर्मचारीहरूको रहेको छ । प्रस्तावित सङ्घीय निजामती विधेयकका कतिपय प्रावधान विभेदकारी र आपत्तिजनक भएको भन्दै स्थानीय तहका कर्मचारी सच्याउनु पर्ने माग राखेर आन्दोलनमा छन् ।