Kakhara सबैको खबर सम्पूर्ण खबर
सामाजिक विकास कार्यालयद्वारा चालु आर्थिक वर्षका कार्यक्रमका बारेमा पत्रकारसँग अन्तरक्रिया 

सामाजिक विकास कार्यालय रुकुम पश्चिमले आर्थिक वर्ष २०७९ /०८० को प्रगति विवरण तथा चालु वर्षको आयोजना तथा बजेटको बारेमा जानकारी गराएको छ । आज मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा पत्रकारसँग अन्तरक्रिया गर्दै आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गरेका योजना तथा चालु आर्थिक वर्षमा गर्नुपर्ने आयोजनाको बारेमा जानकारी बनाएको हो । कार्यालयले वर्षभरि गरेका गतिविधि र चालु आर्थिक वर्षका योजनाका बारेमा सामाजिक विकास कार्यालयका प्रमुख धनञ्जय आचार्यले जानकारी बनाउनुभएको थियो । उहाँका अनुसार जिल्लामा सामाजिक विकास कार्यालयले विभिन्न ६ वटा क्षेत्रमा काम गर्दै आएको छ ।

शिक्षा, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा, महिला तथा बालबालिका, भाषा धर्म संस्कृति, श्रम तथा रोजगार र युवा तथा खेलकुदका क्षेत्रमा काम गर्दै आएको कार्यालय प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष ५ वटा सहकारीलाई ८ लाख ५० हजार बीउ पुँजी अनुदान दिएको, जोखिममा रहेका १ सय ९८ बालबालिकालाई शैक्षिक सामग्री सहयोग, विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरूसँग समन्वय गरेर कार्यक्रम मूल्याङ्कन तथा प्रतिवेदन, १२ जना छोरी/बुहारीलाई उच्च शिक्षा अध्ययन गर्न ५० हजारका दरले रकम प्रदान गरिएको थियो । त्यस्तै उच्च शिक्षा अध्ययनको लागि २ जना अपाङ्ग भएका बालबालिका र ४ जना दलित बालबालिकालाई २४ हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको प्रमुख आचार्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२ स्थानमा बालमैत्री स्थानीय शासन प्रवर्द्धन कार्यक्रम सञ्चालन, विभिन्न दिवसको अवसरमा रेडियोबाट सन्देश मूलक जानकारीहरू प्रसारण, जिल्लाका ६ वटै स्थानीय तहका ६ सय ९८ जना लोपोन्मुख तथा सीमान्तकृत न्यूनीकरण अभ्यास र स्वास्थ्य अवस्था सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम, लोपोन्मुख तथा सीमान्तकृत समुदायका ३ सय ५६ बालबालिकालाई शैक्षिक सामग्री वितरण लगायतका काम पनि गरिएको प्रमुख आचार्यले बताउनुभयो । गत आवमा कुल ६ करोड २ लाख ६१ हजार बजेट रहेकामा ८०.८५ प्रतिशत अर्थात् ४ करोड ८७ लाख २० हजार ५८ रुपैयाँ खर्च भएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो वर्ष भने शिक्षा, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा, महिला तथा बालबालिका, भाषा धर्म संस्कृति, श्रम तथा रोजगार र युवा तथा खेलकुदका क्षेत्रका लागि चालु तर्फ ४७ वटा कार्यक्रमहरू स्वीकृति भएर २ करोड ३१ लाख ४४ हजार बजेट प्राप्त भएको छ । भने पुँजीगत तर्फ विभिन्न ५ वटा भौतिक पूर्वाधार विकासको लागि ३ करोड ६८ लाख बजेट प्राप्त स्वीकृत भएको प्रमुख आचार्यले बताउनुभयो । 

WhatsApp Image 2023-10-06 at 20.12.49_c87049c31696602507.jpg

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडूवालले जिल्लामा सरकारी तथा गैरसरकारी निकायले अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रम कमै गर्ने गरेको उल्लेख गर्दै यस्ता खालका कार्यक्रमहरू चौमासिक रूपमा सञ्चालन गरेर काम कारबाहीको बारेमा जानकारी बनाउनुपर्ने बताउनुभयो । कार्यालयलाई भन्दा बढी सर्वसाधारणलाई लक्षित स्थान कुन हो, कुन समुदायमा कुन कार्यक्रम आवश्यक छ भन्ने कुरा आम जनतालाई नै बढी जानकारी हुने भएकाले सर्वसाधारणलाई समेत बोलाई अन्तरक्रिया तथा सार्वजनिक कार्यक्रम गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले सामाजिक विकास कार्यालय र प्रहरीकोको समन्वयमा जिल्लामा हुने दुर्व्यसनी, बालविवाह न्यूनीकरण लगायत अन्य सामाजिक कार्यमा हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताउनुभयो । कार्यालयले गरेका कामकाज मिडिया मार्फत जनता माझ पुर्‍याउन बेलाबेला अन्तरक्रिया तथा छलफल गर्न आवश्यक रहको पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण केसीले सुझाव दिनुभएको थियो । सामाजिक विकास कार्यालयका सहायक महिला विकास निरीक्षक सुशीला घर्तीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कार्यालयका कर्मचारी योगेश आले मगरले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update