Kakhara सबैको खबर सम्पूर्ण खबर
युएमएनको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

युनाइटेड मिसन टु नेपाल रुकुम पूर्व क्लष्टर (युएमएन)को जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बसेको छ । आज शुक्रवार सिस्ने गाउँपालिका ५ रुकुमकोटमा रहेको चाइनिज होटेलको सभा हलमा युएमएनको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बसेको हो । युएमएनले जिल्ला स्थित नेपाल मगर सेवा समाज तथा सूचना केन्द्र (मिक नेपाल) रुकुम र नेपाल जनजागरण मञ्च (एन–प्या) रुकुमसँगकाे साझेदारीमा जिल्लामा विभिन्न परियोजना सञ्चालनमा रहेका छन् । युएमएन र जिल्ला स्थित दुई साझेदारी संस्थासँग मुख्य पाँच परियोजना अन्तर्गत विभिन्न काम गर्दै आएको छ ।

युएमएन र मिक नेपालसँगको साझेदारीमा दिगो वातावरण तथा आर्थिक विकास परियोजना, स्थानीय परम्परागत ज्ञानको स्तर उन्नतिको लागि रूपान्तरण परियोजना, प्रत्येक बालबालिका तथा किशोर किशाेरीहरुको उत्तम जीवन प्राप्ति परियोजना सञ्चालनमा रहेको युएमएन रुकुम पूर्वका टिम लिडर शिवप्रसाद अधिकारीले बताउनुभयो । यसै गरी जनजागरण मञ्चसँगको साझेदारीमा अपाङ्गता पुनर्स्थापना परियोजना र सामुदायिक रूपान्तरण परियोजना सञ्चालनमा रहेको अधिकारीले जानकारी दिनुभयो ।

सञ्चालित परियोजना मार्फत स्थानीय सरकारसँगको सहकार्यमा स्थानीयको आयआर्जनमा सहयोग, शिक्षा, स्वास्थ्य, बालविवाह न्यूनीकरण, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा स्थानीय तथा सरोकारवाला निकायको क्षमता थप अभिवृद्धिको लागि तालिम लगायतका कार्यक्रम भइरहेको अधिकारी बताउनुभयो । बैठकमा युएमएनसँग साझेदारी संस्था मिक नेपाल र जनजागरण मञ्चले आफूले गरेका परियोजनाको कार्य सम्पादनको अवस्थाबारे प्रस्तुतीकरण गर्नु भएको थियो ।

उक्त परियोजना स्थानीय सरकारलाई सहयोग गर्दै परिवर्तन तथा स्थानीयलाई आत्मनिर्भर र सक्षम तथा सचेत नागरिक बनाउने काममा अग्रसर भइरहेको जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष मेघबहादुर श्रेष्ठले बताउनुभयो । जिल्लाको नविनतम विकासमा यी संस्थाद्वारा सञ्चालित परियोजना मार्फत योगदान पुर्याइराखेकोमा जिसस प्रमुख श्रेष्ठले प्रशंसा गर्नुभयो । यसै गरी सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले जिल्लाका सीमान्तकृत समुदायका निम्ति काम गर्दै आएको बताउनुभयो ।

सीमान्तकृत समुदाय संस्थाले सञ्चालन गरेका परियोजनाबाट लाभ लिँदै आत्मनिर्भर हुँदै गइरहेको अध्यक्ष रेग्मीले बताउनुभयो । यस्तै पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगरले पनि संस्थाले स्थानीय सरकारको कामलाई सहयोग गर्दै गरेको बताउनुभयो । स्थानीय स्रोत साधनलाई उपयोग गर्दै सबै सरोकारवाला लाग्नु पर्ने प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो । स्थानीय स्रोत साधन उपयोग गर्ने तथा गराउने काममा यी संस्थाको अहम् भूमिका रहेको प्रजिअ शर्माले बताउनुभयो ।

जिसस प्रमुखको अध्यक्षतामा भएको बैठकमा जिल्लाका तीन वटै गाउँपालिकाका अध्यक्ष, संस्थाका प्रमुख तथा प्रतिनिधि जिल्ला स्थित सरोकारवाला निकाय कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायत लाभग्राहीको उपस्थिति रहेकोमा कार्यक्रमकाे सञ्चालन युएमएनका परियोजना व्यवस्थापक करुणा थापाले गर्नु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update