Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा खुला वडा स्तरीय महिला, पुरुष भलिबल सुरु 
शिल्ड अनावरण गर्दै मुसिकाेट नगर प्रमुख महेन्द्र केसी ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा जनक–सुधन स्मृति रनिङ्ग शिल्ड महिला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको प्रतियोगिता आज एक कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभयो । यो प्रतियोगिता स्वर्गीय खेलाडी द्वय जनक शाह र सुधन श्रेष्ठको स्मृतिमा आयोजना गरिएको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बिएमले जानकारी दिनुभयो ।

उहाँहरू दुवै जनाको २०७४ साल मङ्सिर ८ गते मुसिकोटको कानेवाङमा भएको गाडी दुर्घटनामा परी मृत्यु भएको थियो । उहाँको योगदान र स्मृतिमा प्रतियोगिता आयोजना गरिएको बिएमले बताउनुभयो । उहाँका अनुसार यो प्रतियोगिता अव देखि हरेक वर्ष आयोजना हुने छ । 

DSC027901696686395.jpg
सर्भिस गरेर प्रतियाेगिताकाे उदघाटन गर्दै मुसिकाेट नगरपालिका प्रमुख महेन्द्र केसी ।

प्रतियोगितामा पुरुष तर्फ रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा, सल्यान, बागलुङ लगायत जिल्लाका २२ र महिला तर्फ रुकुम पश्चिम, सल्यान लगायत जिल्लाका ६ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता आज उद्घाटन भएको र खेलहरू भने भोलीबाट सुरु हुने आयोजकले जनाएको छ । 

प्रतियोगिता अन्तर्गत पुरुष तर्फको विजेताले नगद १ लाख ५१ हजार, रनिङ्ग शिल्ड, कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने अध्यक्ष बिएमले बताउनुभयो । उहाँका अनुसार उपविजेताले नगद १ लाख १ हजार, कप, मेडल र प्रमाण–पत्र पाउँदा तृतीय स्थान हासिल गर्ने टिमले नगद ५१ हजार कप, मेडल र प्रमाण–पत्र पाउने छन् । 

विभिन्न विधागत तर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । वेस्ट प्लेयरले १५ हजार बराबरको स्मार्ट फोन पाउँदा, उदयमान खेलाडी, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट स्पाइकर र वेस्ट सर्भरले समान २ हजार ५ सयका साथमा कप, मेडल र प्रमाण–पत्र पाउने आयोजकले जनाएको छ ।  

DSC027411696686463.jpg
उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै प्रमुख अतिथि मुसिकाेट नगरपालिकाका प्रमुख महेन्द्र केसी ।

त्यस्तै महिला तर्फको विजेताले नगद ५१ हजार, रनिङ्ग शिल्ड, कप, मेडल र प्रमाण–पत्र पाउने छ । उपविजेताले नगद ३१ हजार तथा तेस्रो हुने टिमले नगद २१ हजार कप, मेडल र प्रमाणपत्र पाउने बताइएको छ । महिलाको विधागत तर्फ वेस्ट प्लेयरले नगद ५ हजार तथा उदयमान खेलाडीले नगद २ हजार कप, मेडल र प्रमाण–पत्र पाउने अध्यक्ष बिएमले बताउनुभयो । 

त्यस्तै शिल्ड कब्जा गर्नका लागि भने एक टिमले लगातार तीन वर्ष उपाधि जित्नुपर्ने आयोजकले जनाएको छ । ‘विजेता टिमलाई नगद पुरस्कारका साथमा कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ, उहाँले भन्नुभयो–शिल्ड कब्जा गर्नका लागि भने लगातार तीन वर्ष विजेता बन्नुपर्ने हुन्छ ।’ खेल शुद्ध वडा स्तरीय रहेको छ भने २५ गतेसम्म सञ्चालन हुने छ ।

DSC027771696686427.jpg
उद्घाटन समाराेहमा बाेल्दै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम विएम ।

प्रतियोगिताको एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम विएमको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकाल, नेपाली काँग्रेसका जिल्ला सह सचिव यज्ञ विष्ट, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव सुरज परियार, स्वर्गीय सुधन श्रेष्ठकी आमा गीता शाह श्रेष्ठ, स्वर्गीय जनक शाहकी दिदी टीका शाह लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार मनिष खड्काले गर्नुभएको थियो । 

DSC027861696686410.jpg
सामुहिक फोटो खिचाउँदै ।
DSC027291696686485.jpg
स्वर्गीय जनक शाह र सुधन श्रेष्ठकाे फाेटाेमा अविरआवरण गरेर श्रदाञ्जली अर्पण गर्दै नगर प्रमुख केसी ।
DSC027571696686443.jpg
श्रदाञ्जलीका लागि राखिएकाे स्वर्गीय शाह र श्रेष्ठकाे फाेटाे ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update