Kakhara सबैको खबर सम्पूर्ण खबर
खाद्यान्न अभाव झेल्दै स्यालाखदीवासी
आठबीसकाेट नगरपालिका ३ काे खदी गाउँ ।

रुकुम पश्चिमको आठबीकोट नगरपालिका वडा नम्बर १, २ र ३ मा खाद्यान्न अभाव भएको छ । बर्सात लागेसँगै ती वडाका स्थानीयहरूले खाद्यान्नको अभाव झेलिरहेका छन् । आठबीसकोट नगरपालिका वडा नम्बर ३ खदिका स्थानीय डम्बर देवकोटाले खाद्यान्न अभावसँगै सामानको मूल्य पनि महँगो भएको बताउनुभयो । १ केजी नुनलाई ५० देखि ६० रुपैयाँ पर्ने गरेको उहाँले सुनाउनुभयो । केही महिना अगाडी नुन अभाव भएको बेला प्रति केजी १ सय सम्ममा पनि किन्नु परेकाे देवकोटाले गुनासो गर्नुभयो । त्यस्तै ३० केजि चामलको बोरालाई २ हजार ८ सय, दाल १ केजीलाई ३ सय २० सम्म पर्ने गरेको छ । महँगी सँगै बर्सातको समयमा ग्रामीण सडक सञ्चालन नहुँदा खाद्यान्नको अभाव झेल्नुपरेको देवकोटाले बताउनुभयो ।

अर्का स्थानीय रातो बुढाले खेतबारीमा उत्पादन भएको अन्नले ३ महिना खान नपुग्ने भएकाले बजारकै भर पर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । वडा नम्बर १, २ र ३ को खाद्यान्न पाइने ठुलो बजार खदिमा छ । तर त्यहाँ पनि खाद्यान्न नहुँदा खच्चड प्रयोग गरेर आठबीसकोट नगरपालिका वडा नम्बर ९ को राडी बजार, आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना नदुवाबाट लैजाने गरिएको छ । स्थानीयले आफै घोडा खच्चड बुक गरेर २ दिन लगाएर खाद्यान्न ढुवानी गर्ने गरेको बुढाले बताउनुभयो । पसलवालालाई सामान ल्याउन लगाएपछि केही रकम पसलले खाने र केही खच्चडवालाले खाने भएकाले महँगो पर्ने भएकाले आफै खच्चडलाई सम्पर्क गरेर खाद्यान्न ल्याउने गरेको बुढाको भनाई छ । 

चार्ड पर्वको समयमा खाद्यान्न अभाव र महँगी रोक्न स्थानीय सरकारले चासो दिनुपर्ने र गाउँमै सुपथ मूल्यका पसल सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ ।

बर्सातको समयमा सडक अवरुद्ध हुँदा स्थानीयलाई समस्या हुने गरेको वडा नम्बर तीनका अध्यक्ष केशरमान विकले जानकारी दिनुभयो । अवरुद्ध भएका ग्रामीण सडकहरू सरसफाइ गरेर सञ्चालनमा ल्याउने तयारीमा लागेको उहाँले बताउनुभयो । दसैँ तिहारमा स्थानीयलाई केही सहज होस भनेर स्थानीय सरकारले भाडा अनुदान दिएर दसैँ अगाडी खाद्य संस्थान नेपालगन्जबाट ५ सय क्विन्टल चामल ल्याउने तयारी भइरहेको वडा अध्यक्ष विकले जानकारी दिनुभयो ।

भाडा अनुदानमा आएको चामल नेपालगन्जकै मूल्यमा स्थानीयलाई वितरण गरिने छ । नुनको पनि वडामा चर्को मूल्य हुने गरेकाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर भाडा अनुदान वा प्रति केजी २० रुपैयाँका दरले वितरण गर्ने भन्ने बारेमा छलफल भइरहेको वडा अध्यक्ष विकले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update