सिस्ने गाउँ पालिका वडा नम्बर २ नायगाडमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । सिस्ने गाउँपालिकाको आयोजनामा एकीकृत घुम्ती शिविर भएको हो । सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले र प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा वडा नम्बर २ को नायगाडमा एकीकृत घुम्ती शिविर सञ्चालन भएको छ ।
एकीकृत घुम्ती शिविरमा बिरामीहरूको स्वास्थ्य परीक्षण, अपाङ्ग तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, टोल विकास समिति गठन सम्बन्धी अभिमुखीकरण तालिम र कृषकहरूलाई तरकारीको बिउ-बिजन वितरण गरिएको सिस्ने गाउँपालिकाका प्रशासन अधिकृत अरुण ओलीले जानकारी दिनुभएको ।
ओलीका अनुसार ४३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जसमा महिला ३३ पुरुष १० जना रहेका छन् । त्यस्तै १२ जनालाई अपाङ्गता परिचयपत्र तथा १ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । १२३ जना कृषकहरूलाई रायो साग, गाजर, मुला, धनियाँ र केराउको बिउ वितरण गरिनुका साथै टोल विकास समिति गठन सम्बन्धी अभिमुखीकरण तालिम पनि दिइएको छ ।
सिस्ने गाउँपालिकाको १ र २ नम्बर वडा पालिका केन्द्रबाट केही विकट तथा टाढाको दुरीमा रहेकाले गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभएको छ ।
आइतबार वडा नम्बर २ बाट सुरु गरिएको शिविर २३ गते वडा नम्बर १ को पाखापानीमा पुगेर सम्पन्न हुने सिस्ने गाउँपालिकाले जनाएको छ । शिविरमा गाउँपालिकाबाट सम्बन्धित शाखाका प्रमुख तथा प्रतिनिधिहरू, रुकुम पूर्व अस्पतालका मेडिकल अधिकृत पूर्ण पुन र अनीश श्रेष्ठ लगायतको टोली रहेको छ ।