सदरमुकाम मुसिकोट खलङ्गाबाट नजिकै भए पनि वडा नम्बर ९ र १० टाढा झैँ लाग्छन् । त्यसको कारण हो सहज यातायातको सुविधा नहुनु । जिल्लाको सबैभन्दा पुरानो मध्येको एक शितलपोखरी–चुनवाङ सडक वर्षौँ देखि निर्माणाधीन छ । पछिल्लो पटक यो सडक खण्ड अन्तर्गत शितलपोखरी देखि टिलासम्मको सडक कालोपत्रे गर्ने गरी ठेक्का लागेको पनि धेरै वर्ष भइसकेको छ । बर्सेनि काम चलिरहेको छ तर सम्पन्न हुने छाँट देखिन्न । ठेकेदारको लापरबाहीका कारण निर्माणले समयमा पूर्णता पाउन नसकेको हो ।
हिउँद याममा वडा नम्बर ९ का होलतारा लगायतका ठाउँ र वडा नम्बर १० का चुन, गलमपाटी, खर्सुपानी, चौर लगायतका ठाउँमा पुग्न त्यति धेरै मुस्किल छैन । तर जब बर्खा सुरु हुन्छ त्यसपछि भने सुरु हुन्छन् मुसिकोट ९ र १० अर्थात् चौखावाङवासीका दुःख । कमजोर भूगोल र निर्माणाधीन अवस्थाका कारण ठाउँ ठाउँमा खस्ने पहिरोले लगभग आधा वर्ष चौखावाङवासी यातायातको सेवाबाट वञ्चित हुने वर्षौँ देखिको नियति यस वर्ष भने फेरिएको छ । यो वर्ष मध्य बर्खामा पनि चौखावाङको चुनसम्म सहजै यातायातका साधन पुगे ।
वडाको सक्रियताका कारण यो वर्ष धेरै लामो समयसम्म बाटो अवरुद्ध नभएको मुसिकोट १० का वडाध्यक्ष धनबहादुर खड्का बसन्तले बताउनुभयो । ‘यो वर्ष हामीले कसरी हुन्छ सडक अवरुद्ध हुन नदिने गरी गम्भीर थियौँ, धेरै पानी परेको बेला कहिले काहीँ एक वा दुई दिनसम्म सडक बन्द भयो होला, उहाँले भन्नुभयो–तर हामीले लामो समय बाटो बन्द हुन दिएनौ, जहाँनेर समस्या हो त्यहाँ तुरुन्तै जेसिभि पठाएर बाटो सफा गरिहाल्यौँ ।’
अघिल्ला वर्षहरूमा वर्षा नसकिई बाटो नखुल्ने अवस्थालाई यो वर्ष तोड्न सफल भएको उहाँको भनाई छ । ‘भौगोलिक रूपमा हाम्रो ठाउँ कमजोर छ, तर इच्छाशक्ति भयो भने वर्षभरि नै सडक सञ्चालन गर्न सकिने रहिछ उहाँले भन्नुभयो ।’ कहिले सरकारको तथा कहिले व्यक्तिगत रूपमै पनि डोजर बोलाएर बाटो सफा गर्ने काम गरेको उहाँले बताउनुभयो । त्यस्तै वडाले सडक सरसफाइका लागि केही व्यक्तिलाई राखेको छ । यसबाट स्थानीयले रोजगारी समेत पाएका छन् । अब भने बर्खा सकिएकाले थप सहज हुने वडाध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार चाडपर्वलाई लक्षित गरेर मुख्य तथा अन्य सहायक सडकहरू पनि मर्मत गर्ने योजनामा वडा रहेको छ ।