Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पू महोत्सव १० हजार बढीले अवलोकन गरे 
स्यार्पू महाेत्सव अवलाेकन गर्न पुगेका दर्शक ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा सञ्चालन भएको स्यार्पू महोत्सव १० हजार बढीले प्रत्यक्ष अवलोकन गरेका छन् । असोज ११ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको महोत्सव १० हजार बढी दर्शकले प्रत्यक्ष रूपमा अवलोकन गरेको महोत्सव व्यवस्थापक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमले जनाएको छ । 

रुकुम पश्चिम सहित रुकुम पूर्व र अन्य जिल्लाबाट समेत महोत्सवका लागि दर्शकहरू पुगेको प्रतिष्ठानका जिल्ला अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो । त्यस्तै समग्रमा भने धेरै जना स्यार्पू पुगेको उहाँको भनाई छ । 

‘टिकट काटेर महोत्सव हेर्नेको सङ्ख्या १० हजार हो, यसका अलावा महोत्सवका अवसरमा आयोजना गरिएको महिला पुरुष भलिबल हेर्ने र स्यार्पू हेर्ने दर्शकको सङ्ख्या अझ धेरै रहेको छ, उहाँले भन्नुभयो ।’ स्यार्पू तालमा पहिलो पटक २०६७ साल असोज ११ गतेदेखि १५ गतेसम्म महोत्सव लागेकामा त्यसको १३ वर्षपछि दोस्रो महोत्सव लागेको हो ।

पहिलो महोत्सवपछि भने त्यसको सम्झनामा हरके वर्ष सोही मितिमा मेला लाग्दै आएको थियो । स्थानीय तह बनेपछि उक्त मेलाको अपनत्व बाँफिकोट गाउँपालिकाले लिएको छ । यो वर्ष पनि महोत्सव गाउँपालिकाले आयोजना गरेको हो भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले व्यवस्थापन गरेको हो । 

व्यापारिक स्टल सहित राष्ट्रिय कलाकारहरूको उपस्थितिमा महोत्सव भएको हो । महोत्सवमा गायिका तथा मोडल ज्योति मगर, गायक बद्री पङ्गेनी, चन्द्र शर्मा, तिलक परियार, शक्ति चन्द लगायतका कलाकारहरूले प्रस्तुति राखेका थिए । त्यस्तै विभिन्न व्यापारिक स्टलहरू समेत राखिएको थियो । महोत्सव हिजो सम्पन्न भएको हो ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update