Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा बजार अनुगमन: बजार भन्दा गाउँमा धेरै म्याद गुज्रिएका सामग्री  
म्याद गुज्रिएका सामग्रिकाे मुचुल्का बनाउँदै कर्मचारी ।

चाडपर्व नजिकिएसँगै रुकुम पश्चिममा बजार अनुगमनलाई तीव्रता दिइएको छ । दसैँ, तिहारमा महँगी र कालोबजारी हुने भएकाले यसलाई रोक्न बजार अनुगमनलाई तीव्रता दिइएको हो । जिल्ला प्रशासन कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले संयुक्त रूपमा बजार अनुगमनलाई तीव्रता दिएका छन् । 

हिजोबाट सुरु भएको बजार अनुगमन जिल्लाका सबै बजार क्षेत्रमा पुग्ने लक्ष्य लिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका निमित्त प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो बागबजारका ५८ किराना र खाद्यान्न पसल अनुगमन गरिएको थियो । आज मुसिकोट नगरपालिकाको वडा नम्बर ७ साँखका २० वटा किराना पसल र खाद्यान्न पसलमा अनुगमन गरिएको छ । 

बजारमा भन्दा गाउँका पसलमा माद गुज्रिएका सामग्री बढी फेला परेका छन् । बागबजारमा अनुगमन गर्दा कुनै पनि माद गुज्रिएका सामान फेला नपरेको र आज साँखमा अनुगमन गर्दा १६ हजार ४ सय ६० रुपैयाँ बराबरका चाउचाउ, दालमोठ, भुजा, चिया पत्ती, चकलेट लगाएका माद गुज्रिएका सामग्री बरामद गरिएको निमित्त प्रमुख खत्रीले बताउनुभयो ।

साँखमा अनुगमन गरेका २० मध्ये १० वटा पसल दर्ता नगरेरै सञ्चालन गरेको पाइएको छ । त्यस्तै बागबजारमा अनुगमन गरिएका मध्ये २० वटा पसल दर्ता विना नै सञ्चालन भएका छन् । उक्त पसललाई एक हप्ताभित्र दर्ता गरेर सञ्चालन गर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडूवालले जानकारी दिनुभयो । 

चाडपर्वमा हुने महँगी र कालोबजारीलाई रोक्न अनुगमनलाई निरन्तरता दिने सहायक प्रमुख जिल्ला अधिकारी बडूवालले जानकारी दिनुभयो । बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी बडूवाल, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका निमित्त प्रमुख खत्री, कार्यालयका कर्मचारी,  नेपाल प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update