Kakhara सबैको खबर सम्पूर्ण खबर
‘विभिन्न कठिनाईका वावजुत पनि विकासका लागि निरन्तर कोशिस भइरहेको छ’

केशरमान विक २०७२ सालमा डोल्पाको दुनैमा व्यवसाय गर्न उक्लेका एक युवा । रोजिरोटीको शिलशिलामा व्यवसायको थलो दुनै रोजेका विकले व्यवसायका साथ सहजिकरणको काम पनि गर्नुभयो । विशेष गरी आफ्नो गाउँ साविक स्यालाखदी गाविसबाट काम गर्न डोल्पाका विभिन्न ठाउँ पुग्ने गाउँलेलाई परेको असजिलो, अफ्ठ्यारोको सहजिकरणको काम उहाँले गर्नुभयो । दुनैमा बसेकाले काम गर्न गएका गाउँलेले उहाँको आश भरोषा मान्थे र त्यो अनुसारको काम पनि उहाँले गरिदिनुहुन्थ्यो । विभिन्न कामकाज गर्नका लागि त्यस क्षेत्रका मान्छे दुनै पुग्थे । भौतिक निर्माणदेखि भरियाको काम गर्न गएका तथा विभिन्न व्यापार व्यवसायको सन्दर्भमा पुगेकाहरुको समस्या सहजिकरणले उहाँलाई धेरैमा चिनायो । धेरैले आश र भरोषा गर्ने भए । अरुलाई सहयोग गर्न पाउँदा, समस्याको सहजिकरण गर्न पाउँदा आनन्द महशुस हुने भएपछि उहाँ राजनीति मार्फत समाज सेवामा लाग्नुभयो । झण्डै २ बर्ष दुनै बसेर गाउँ फर्केपछि उहाँ प्रत्यक्ष रुपमा जनता र गाउँसँग जोडिएर काम गर्न थाल्नुभयो । गाउँ फर्केपछि प्रत्यक्ष राजनीतिमा जोडिएपछि उहाँ जनप्रतिनिधि पनि बन्नुभएको छ । 

२७ बर्षमै वडाध्यक्ष
गाउँ फर्केर गाउँका हरेक कामकाजमा जोडिएपछि उहाँ पहिलो पटक हुन लागेको स्थानीय तहको वडाध्यक्षको उम्मेदवार बन्नुभयो । नेकपा माओवादी केन्द्रले उहाँलाई आठबीसकोट नगरपालिका ३, को वडाध्यक्षको उम्मेदवार बनायो । २०७४ वैशाख ३१ भएको निर्वाचनमा उहाँ निर्वाचित हुनुभयो । निर्वाचित भएकै महिना उहाँ २७ बर्ष पुग्नुभएको थियो । साविक स्यालाखदी गाविसको ३, ४ र ५ नम्बर वडा मिलाएर आठबीसकोट नगरपालिकाको ३ नम्बर वडा बनाइएको छ । नेपाली कांग्रेसका उम्मेदवार गोपालसिङ बोहरालाई दोब्बर बढी मतले हराएर उहाँ वडाध्यक्षमा निर्वाचित हुनुभयो । विकले ५ सय १७ मत ल्याउँदा बोहराले १ सय ४९ मत ल्याउनुभएको थियो । नयाँ शक्ति पार्टीका बलबहादुर बुढाले १६ मत प्राप्त गर्नुभएको थियो । त्यस अघि पनि गाउँको विभिन्न कामकाजमा जोडिएका विक त्यसपछि गाउँको नेतृत्वमा आउनुभयो । मतदाताले गाउँको नेतृत्व गर्ने अधिकार विकलाई २७ बर्ष पुगेकै समयमा दिए । 

मुख्य प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, विद्युत र यातायात  
४ सय ८३ घरधुरी रहेको यस वडाले प्राथमिकताका आधारमा कामकाज गरिरहेको छ । शिक्षा, स्वास्थ्य, कृषि, विद्युत, यातायात, मुख्य प्राथमिकतामा राखिएको छ । यसका साथसाथै भौतिक निर्माण, प्रशासनिक कामकाज पनि वडाको प्राथमिकतामै छन् । भौगोलिक हिसावले असजिलो ठाउँ र क्षेत्र भएपनि यसको विकासका लागि नभइ नहुने काम गर्न भन्दै वडाले यी प्राथमिकता निर्धारण गरेको वडाध्यक्ष विकले बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहको बजेट वडाका विभिन्न विकास निर्माणमा परिचालन भएको वडाध्यक्ष विकले बताउनुभयो । 

टोल विभाजन गरेर विकास निर्माण
वडाले विकास निर्माणलाई सजिलो र सहज बनाउनका लागि टोल विभजान गरेको छ । विभाजन गरिएको टोल मार्फत नै हरेक विकास निर्माणका काम हुने गरेका छन् । विकास निर्माणको माग हुने गरेको छ । दोलङ्गा पाटागाउँ, माराइ पाटागाउँ, दाङ सुल्कीवाङ रिजेखोला नेटी लेक, खदी माथिगाउँ, भगवती टोल माथिगाउँ विभाजन गरिएको छ । यसैगरी खदी तलिगाउँ, खदी सल्लेरी, डाँडामाथि चौथारी टोल, लाहा, काल्जुरा, लाम्तरा बयाल्ले टोल विभाजन गरेर कामकाज तथा विकास निर्माण भइरहेको छ । टोल मार्फत समस्या माग्न, समस्या समाधान गर्न सजिलो भइरहेको वडाध्यक्ष विकले बताउनुभयो । साना तर महत्वपूर्ण कामकाज गर्नका लागि पनि टोल निर्माण गर्दा सजिलो भइरहेको उहाँले बताउनुभयो । सानो इकाइमा निर्णय सम्प्रेशन गर्न र माग संकलन गर्दा पनि सजिलो भइरहेको महशुस वडाध्यक्षलाई छ । 

शिक्षातर्फ
वडाले पहिलो प्राथमिकतामा शिक्षालाई राखेको छ । शिक्षा विकासको पहिलो मेरुदण्ड भएकाले पनि वडा यसमा बढी केन्द्रीत छ । यस वडामा हिमालय मावि खदी र गोरखनाथ आधारभुत विद्यालय पाटागाउँ गरी २ वटा विद्यालय छन् । हिमालय मावि खदीमा बाल विकासदेखि १० कक्षा सम्म पठन पाठन हुन्छ भने आधारभुत विद्यालय पाटागाउँमा बाल विकासदेखि कक्षा ५ सम्म पठन पाठन भइरहेको छ । हिमालय मावि आठबीसकोट नगरपालिकाका १, २ र ३ नम्बर वडाको एक मात्र मावि हो । यी दुवै विद्यालयमा यस वडाले भौतिक निर्माण, प्रशासनिक सुधारमा काम गरेको छ । हिमालय मावि खदीको भौतिक निर्माणका लागि सुरुमा १७ लाख रुपैयाँमा गाउँकै बीचमा एक हजार आठ सय बर्गमिटर जग्गा खरिद गरियो । २७ लाख ५० हजार रुपैयाँ लगानी गरेर त्यसको व्यवस्थित घेराबार गरी विद्यालयको संरक्षण भयो । संरक्षणको काम अहिले पनि भइरहेको छ । घेराबार, प्याराफिट सहितको खेलमैदान तथा मञ्च निर्माणको काम यही बजेटबाट चालु आर्थिक वर्षमा सकिदैछ । झण्डै १२ लाखको लगानीमा विद्यालयका ६ वटा कोठा व्यवस्थित बालमैत्री कक्षा बनाइएको छ । ३५ लाखको लगानीमा व्यवस्थित कम्प्युटर ल्याब स्थापना गरिएको छ ।

६ लाखको लगानीमा कक्षा कोठा व्यवस्थापन सहित डिजिटल ल्याब स्थापना भएको छ । ७ लाखको लगानीमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । ६ लाखको लगानीमा पुस्तकालय स्थापना गरिएको छ । ४ लाखको लगानीमा कार्यालयको नयाँ व्यवस्थापन गरिएको छ । १३ लाख ५० हजारको लागानीमा ३ किलोवाट विद्युत उत्पादन क्षमताको सोलार प्रणाली जडान । विद्यालयमा २ लाखको  लगानीमा संगित ल्याब स्थापना गरिएको छ । विद्यालय व्यवस्थापन समितिको कार्यकक्ष निर्माणका लागि २ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ । ८ लाख रुपैयाँ लगानीमा एउटा शौचालय निर्माण गरिएको छ । एक करोड ४६ लाखमा ८ कोठे पक्कि भवन निर्माणको चरणमा छ । ४ लाख ५० हजार रुपैयाँमा ३ वटा पूराना विद्यालयका भवन मर्मत गरिएको छ ।

हिमालय माविको प्रशासनिक सुधारतर्फ पनि विभिन्न कामकाज भएको वडाध्यक्ष विकले बताउनुभयो । उहाँका अनुसार एसइइको परीक्षा केन्द्र स्थापना, १ वटा बाल विकास कक्षा थप, एक लाख ५० हजारको लगानीमा दाङ सुल्कीवाङ रिजेखोला नेटी लेक टोलमा अर्को बाल विकास कक्षा सञ्चालनको सुरुवात गरिएको छ । ८ जना शिक्षकको व्यवस्थापन, एक जना संगित शिक्षकको व्यवस्था गरिएको छ । यसबाट विद्यालयको शैक्षिक सुधार आउने विश्वास गरिएको वडाध्यक्ष विकले बताउनुभयो । विद्यालयको शैक्षिक सुधार पनि भएको छ । पछिल्लो पटकको अध्ययन अनुसार ४६.८३ प्रतिशत शैक्षिक उपलब्धि भएको छ । त्यस अघि ४० देखि ४१ प्रतिशत मात्रै शैक्षिक उपलब्धि थियो ।

गोरखनाथ आधारभुत विद्यालयको भौतिक निर्माण र प्रशासनिक सुधारमा पनि काम भएको छ । १६ लाखको लगानीमा २ कोठे ट्रष्ट भवन निर्माण, ७ लाख ५० हजारको लगानीमा खेलमैदान तथा वाल निर्माण गरिएको छ । एक लाख ५० हजारको लगानीमा २ वटा बालमैत्री कक्षा निर्माण र कार्यालय व्यवस्थापन गरिएको छ । यसमा २ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । ५ सय वाट क्षमताको सोलार प्रणाली जडान गरिएको छ । एक लाख लगानीमा कम्प्युटर र फोटोकपी मेशिनको व्यवस्था गरिएको छ । ७ लाख ५० हजारको लगानीमा विद्यालयको घेराबार निर्माण गरिएको छ । कक्षा कोठा व्यवस्थापनको काम भइरहेको छ । यसमा २ लाख ५० हजार बजेट विनियोजन गरिएको वडाध्यक्ष विकले बताउनुभयो । एउटा बाल विकास थप गरिएको छ । 

सडक यातायात तर्फ
यो क्षेत्र, यो वडा जिल्लाकै भौगोलिक रुपमा कठिन क्षेत्र हो । यसमा यातायातको पहुँच बनाउने ठूलो चुनौती छ । यद्यपी यसका लागि निरन्तर लागिरहेको वडाध्यक्ष विकको भनाई छ  । उहाँ अनुसार हालसम्म खदी गाउँमा सडक पुगेको छ । यद्यपी यो बाह्रै महिना सञ्चालनमा कठिन छ । यसलाई नियमित चलाउने पहल र प्रयास जारी रहेको वडाध्यक्ष विकले बताउनुभयो । यसका साथसाथै अरु सडक निर्माणका काम पनि भइरहेका छ । बसेरा–खदी सडक निर्माण भएको छ । ९० लाखमा निर्माण भएको यो सडक १३ दशमलव ५ किलोमिटर लामो छ । यसैले खदीसम्म सडक जोडेको छ । ९० लाखमध्य झण्डै ४५ लाख रुपैयाँ तिर्न बाँकी नै छ । थलबल्याडाँडा–खदी सल्लेरी टोल हुँदै माथि गाउँ सडक निर्माण भएको छ । साढे ३ किलोमिटर लम्बाई रहेको यो सडक २५ लाख रुपैयाँमा निर्माण भएको हो । बसेरा–खदी–पाटाउँ सडक निर्माण । यो सडक निर्माणको सुरुवात गरिएको छ । यसमा एक करोड रकम खर्च भएको छ ।

यो खदीदेखि जलिगाड, दाङसम्मको खण्ड निर्माण भएको छ । खदी–स्याला–बारंगे सडक निर्माणको काम सुरु भएको छ । साढे ३ करोड बजेटमा थालिएको यो सडकले ३ नम्बर वडा सहित २ र १ वडा पनि जोड्ने छ । यद्यपी यो बजेट पुग्दो भने नभएको वडाध्यक्ष विकले बताउनुभयो । राडी–दाँजे–खदी सडक निर्माण कार्य जारी छ । नगरपालिका केन्द्रबाट खदी जोड्ने सडक हो यो । ५ करोड बजेटमा यो सडक निर्माण र मर्मतको काम पनि भइरहेको छ । खदी–दाँजे–राडी सडक निर्माण पनि थालिएको छ । २ करोड बढी बजेटबाट काम थालिएको छ । चट्टान चट्टान सहितको यो क्षेत्रमा सडक निर्माणले गति लिन सकिरहेको छैन । डोइलेखाल–खदी तलिगाउँ–भयाराथान सडक निर्माण भइसकेको छ । १ किलो मिटर लम्बाई रहेको यो सडकको भुक्तानी भने हुन बाँकी छ । वडाको महत्वपूर्ण मानिएको अर्को सडक हो ।

बसेरा–खदी–जलीगाड–दाङ सडक मर्मतमा ५० लाख रुपैयाँ प्राप्त भएको छ । यो सडक निर्माण तथा मर्मत थालिएको छ । नदुवा–झारमारे–बसेर सडक मर्मतका लागि ४० लाख रुपैयाँ प्राप्त भइ काम भइरहेको छ । खदी–पाटागाउँ–जलीगाड–रग्दा हो । यो सडक बजेट अभावका कारण निर्माण सुरु हुन सकेको छैन । 

स्वास्थ्य तर्फ
यस वडामा दुई स्वास्थ्य संस्था स्थापना गरिएको छ । साविक स्यालाखदी गाविसको एक मात्र स्वास्थ्य चौकी २ नम्बर वडामा परेपछि । यस ३ नम्बर वडाको पाटागाउँमा गाउँघर क्लिनिक र खदीमा आधारभुत स्वास्थ्य इकाई स्थापना गरी सञ्चालनमा ल्याइएको छ । पाटागाउँमा गाउँ क्लिनिकको भवन निर्माण सुरु भएको छ । १० लाख बजेटबाट भवन निर्माण भइरहेको हो । खदीको आधारभुत स्वास्थ्य इकाईको भवन पनि निर्माणाधिन छ । संघीय सरकारको ३८ लाख बजेटमा भवन बनिरहेको वडाध्यक्ष विकले जानकारी दिनुभयो । भवन निर्माणका लागि वडाले खदीमा वडाले ३ लाख ५० हजारमा ३ सय ५० बर्गमिटर जग्गा खरिद गरेको थियो । आधारभुत स्वास्थ्य इकाइ र गाउँघर क्लिनिकमा ३ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । वडामा देखिएको ठूलो समस्या समाधानका लागि हेलिकोप्टर मार्फत डाक्टर ल्याएर विरामीको उपचार गरिएको थियो । 

विद्युत तर्फ 
वडाको खदीमा विजुली बलेको छ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन  जडान गरिएपछि फागुनको अन्तिम सातादेखि खदिका ५४ घरमा विजुली बल्न थालेहो । खदीका २ सय ५७ घरमध्य ५४ घरमा विजुली बलेको र अरु घरमा पनि विजुली बाल्ने प्रक्रियामा रहेको वडाध्यक्ष विकले बताउनुभयो । खदीका सबैतिर पोल गाड्ने र तार तान्ने काम सकिएको र उपभोक्ताले मिटर जडान सकिन बाँकी रहेकाले अरु घरमा केही समयमा विजुली बल्ने वडाध्यक्ष विकले बताउनुभयो  । पुष २५ गते खदीको पोल र ट्रान्सफर्मरमा विजुली बलेको थियो । त्यसपछि मिटर जडान गर्ने काम सकिएका घरमा विजुली बलेको हो । भौगोलिक कठिनाई असजिलोका बाबजुद वडामा विुजली बलेको र अब बाँकी टोल र घरमा पनि विजुली बाल्ने कामा निरन्तर लागिएको वडाध्यक्ष विकले बताउनुभयो । ३ नम्बर वडा नगरपालिकाको विजुली बाल्ने पहिलो वडा भएको छ । नगरका अरु वडामा पोल, तार पुगेपनि विजुली भने बालिएको छैन । वडाको पाटाउँमा पनि यो विद्युत लाइने विस्तारको योजना छ । यसका लागि आवश्यक सम्झौता भएको केही समयमै काम सुरु हुने जनाइएको छ । वडाका सबै टोल उज्याला टोल बन्ने गरी काम भइरहेको र यही वर्ष भित्रै यो काम सकिने वडाध्यक्ष विकले बताउनुभयो । 

कृषि तर्फ
अर्गानिक कृषिका लागि यो वडा र यो क्षेत्र उपयुक्त छ । हिमाली क्षेत्र भएका कारण पनि यहाँको उत्पादन बढी अर्गानिक हुन्छ । यो वडा सुन्तला पकेट, ओखर ब्लक, किवि पकेटका लागि उपयुक्त हो । यसका लागि झण्डै ४० लाख रुपैयाँ खर्च भएको छ । सुन्तलाका विरुवा, ओखर र किविका विरुवा किसानलाई वितरण गरिएको छ । लामातरा,डाँडामाथी,लाहा,काल्जुरा सिचाई निर्माण भएको छ । यो योजना पनि यही ४० लाख बजेटभित्रबाट निर्माण गरिएको हो । किसानलाई उन्नत जातका बोका वितरण गरिएको छ । पशुको उपचार तथा औषधी वितरण गरिएको छ । 

खरको छाना हटाउने अभियान
यो वडाले खरको छाना हटाएर जस्ताको छाना बनाउने अभियानको सुरुवात गरेको छ । हरेक बर्ष खरको छाना हाल्न समस्या हुने भन्दै वडाले नागरिकलाई जस्ताको छाना हाल्दिने भएको हो । यसका लागि ६८ घरपरिवार छनौट भएका छन् । जस्ताको छानो हाल्नका लागि छनौट भएका ६८ घरपरिवार सम्झौता गर्ने चरणमा छन् । अरु थप ३२ घर परिवार थपेर यही बर्ष १ सय घरमा जस्ताको छाना हाल्ने योजना रहेको वडाध्यक्ष विकले बताउनुभयो । वडाभर १ सय ९६ वटा मुख्य घर खरको छानावाला छन् । बाँकी ९६ घरको पनि अर्को वर्ष खरको छाना हटाउने प्रक्रिया सुरु गर्ने योजना रहेको छ । साथै अति विपन्न २ घर परिवारका लागि जनता आवास कार्यक्रम मार्फ २ घर निर्माण भएका छन् ।

थप २ वटा आवास यो वर्ष निर्माण हुने जनाइएको छ । वडामा अरु भौतिक पूर्वाधार पनि बनेका छन् । १५ लाख रुपैयाँमा खदीमा महिला सामुदायिक भवन निर्माण भएको छ । ४० लाख ९० हजार रुपैयाँमा खदीमा ढल तथा भल निकासको योजना निर्माण हुँदै छ । यसबाट जथाभावी बग्ने भल र ढलको निकास हुने विश्वास छ । खदी चर्चका लागि पक्कि भवन निर्माणको योजना रहेको छ । यसका लागि १३ लाख रुपैयाँ विनियोजन गरिएको छ । बुरालमष्ट मन्दिर निर्माणका लागि ३ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । यो मन्दिर खदीमा निर्माण भइरहेको छ । पाटागाउँमा सौर्य घट्ट निर्माण भएको छ । यसबाट पिठो पिस्नका लागि टाढा जानुपर्ने बाध्यता टरेको छ । झण्डै ७ लाख रुपैयाँमा घट्ट निर्माण गरिएको हो । ६५ लाखको लगानीमा बयाल्नेमा झोलुङ्गे पुल निर्माण भएको छ । 

प्रशासनिक तर्फका कामहरु
खदीमा प्रहरी चौकी स्थापना गरिएको छ । शान्ति सुरक्षालाई मध्यनजर गरी अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । वडाकै पहलमा मदिरा निषेध गरिएको छ । २०७५ सालको माघ १४ गते यस वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो । त्यसपछि यहाँ मदिरा निषेध भइरहेको छ । यसले शान्ति सुरक्षाको प्रत्याभूति भएको छ । बाल विवाह न्युनिकरणमा ध्यान दिइएको छ । बाल विवाह गर्ने र गराउनेलाई सामाजिक बहिस्कारको नीति अख्तियार गरिएको छ । सरसफाई अभियान जारी छ । असहाय, विरामी, विपन्नका लागि यातायात सुविधाको व्यवस्था गरिएको छ । मोवाइल फोन सेवा सहज भएको छ । गोतामकोटको टावरको क्षमता बढेपछि यस वडाका सबैतिर फोन लाग्ने भएको छ । गरीब तथा विपन्न परिवारका छोराछोरीलाई छात्रवृत्ति मार्फत पठन पाठनको व्यवस्था मिलाइएको छ । विभिन्न खालका सिपमूलक तालिम गराइएको छ, भएका छन् । यसको साथसाथै समस्या र चुनौती पनि छन् ।

सबै कामकाज सजिला हुँदैनन् । काम गर्ने क्रममा विभिन्न चुनौती छन्, थपिने क्रम पनि जारी छ । जिल्लाकै भौगोलिक विकटता रहेका कारण हरेक कामकाजका लागि असहजता छ । भौगोलिक अवस्थिति अनुसारको बजेट व्यवस्थापन हुन सकिरहेको छैन । यद्यपी निरन्तर कोशिस, कडा मेहनत, इच्छाशक्ति, सबैको साथ सहयोग भएपछि असम्भव भनिएको काम पनि सम्भव हुन्छ भन्ने पुष्टि भएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  ०५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update