Kakhara सबैको खबर सम्पूर्ण खबर
बेरुजु तिर्न पूर्व प्रअ खनाललाई वर्तमान प्रअ केसीको पत्र, मैले तिर्नुपर्ने बेरुजु छैन: खनाल
प्रअ गाेपीराम केसी (बायाँ) ले पूर्व प्रअ हरिप्रसाद खनाल (दायाँ) लाई बेरुजु असुल उपरका लागि काटेकाे पत्र (बिचमा) ।

त्रिभुवन जनता माविमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक तथा शिक्षक कर्मचारीका बिचमा दुरी बढेको छ । वर्तमान प्रधानाध्यापक गोपीराम केसी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र केसी र ३ जना शिक्षक एकातिर देखिएका छन् भने बाँकी पूर्व प्रअ हरिप्रसाद खनाल, वर्तमान सहायक प्रअ सङ्गम केसी सहित २९ जना शिक्षक तथा कर्मचारी अर्को खेमामा उभिएका छन् । दुई समूहको चरम सङ्घर्षमा विद्यालय पिल्सिएको छ । विद्यालय सञ्चालनमै यसले प्रभाव पारिरहेको छ । अब पठनपाठनमै असर पर्ने चिन्तामा विद्यार्थी तथा अभिभावक छन् । त्यसको छनक सोमबार देखिसकेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष केसी सहित विव्यस विगठनको माग सहित २९ जना शिक्षक कर्मचारी दबाब दिन मुसिकोट नगरपालिका पुगेपछि केही समय पठनपाठन नै प्रभावित भएको थियो । आफूहरूको माग पुरा नभए विद्यार्थी सहितको आन्दोलन गर्ने चेतावनी आन्दोलनरत शिक्षकहरूले दिइसकेका छन् । पूर्व प्रअ र वर्तमान सहायक प्रअ सहित अधिकांश शिक्षक तथा कर्मचारीहरू विव्यस विगठनको एक सूत्रीय माग सहित आन्दोलित हुँदा विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रअ सहितको टिम बेरुजु असुल उपरमा लागेका छन् ।

प्रअ केसीले आइतबार पूर्व प्रअ खनालका नाममा एक हप्ता भित्र २४ लाख बढी बेरुजु विद्यालयको खातामा जम्मा गर्न भन्दै पत्र काट्नुभएको छ । ‘तपाइको कार्यकालको आर्थिक वर्ष २०७८/०७९ को अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार बेरुजु तथा अनियमितता भएको रकम पत्रको मितिले ७ दिनभित्र सरकारी नियम अनुसार विद्यालयको खातामा जम्मा गरी, गर्न लगाई भौचर पेस गर्न निर्देशन छ, उक्त पत्रमा भनिएको छ ।’ तोकिएको समयमा उक्त रकम जम्मा नभएमा पूर्व प्रअ खनालको तलब सेवा सुविधाबाट असुल उपर गरिने जनाइएको छ । उक्त पत्रमा २४ लाख ३६ हजार १ सय ७१ रुपैयाँ ३९ पैसा बेरुजु रहेको उल्लेख छ । साथै १ लाख ६९ हजार ६ सय बेरुजु भने असुल उपर भइसकेको जनाइएको छ । 

387831695_10219593320823518_4718956009112244149_n1696923733.jpg
बेरुजु असुलका लागि प्रअ गाेपीराम केसीले पूर्व प्रअ हरिप्रसाद खनाललाई लेखेकाे पत्र ।

मेरा नाममा कुनै बेरुजु छैन: पूर्व प्रअ खनाल 
पूर्व प्रअ हरिप्रसाद खनालले अब आफ्नो नाममा विद्यालयमा तिर्नु पर्ने कुनै बेरुजु बाँकी नरहेको बताउनुभयो । लेखा प्रतिवेदनमै उल्लेख भए अनुसारको बेरुजु आफूले तिरिसकेको र अब आफ्नो नाममा कुनै पनि बेरुजु नरहेको उहाँको दाबी छ । ‘एकपक्षीय रूपमा लेखा परीक्षण भएको छ, असुल उपरका लागि पनि कुनै प्रक्रिया पुरा गरिएको छैन, उहाँले भन्नुभयो–तैपनि मैले मेरा नाममा देखिएको बेरुजु रकम विद्यालयमा तिरिसकेको छु, अब मेरा नाममा कुनै बेरुजु छैन, बाँकी बेरुजुमा म जिम्मेवार हुने कुरा पनि भएन ।’

Hari Khanal1696923964.png

अन्य शिक्षक, कर्मचारी तथा सप्लायर्सका नाममा रहेको बेरुजु उठाउने जिम्मा अब विद्यालयको भएको उहाँको भनाई छ । ‘म अहिले प्रअ पनि छैन, अरू व्यक्ति र संस्थाका नाममा भएको बेरुजु विद्यालयले असुल गर्ने हो मैले होइन उहाँले भन्नुभयो ।’ नियोजित रूपमा प्रअले आफूलाई पत्र काटेको र विव्यस अध्यक्षले आफ्नो चरित्र हत्या गर्ने काम गरेको खनालको दाबी छ । नक्कली फर्जी कागज बनाई व्यक्तिगत रिसिइवि र प्रतिसोध राखी सामाजिक सञ्जालमा राखिएको उहाँले बताउनुभएको छ । यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न उहाँले सबैलाई अनुरोध समेत गर्नुभएको छ । 

उहाँकै कार्यकालको भएकोले उहाँकै जिम्मेवारी हो: प्रअ केसी
विद्यालयका प्रअ गोपीराम केसी भने खनालको कार्यकालको बेरुजु भएकोले असुल उपर गर्ने जिम्मेवारी पनि उहाँकै भएको दाबी गर्नुहुन्छ । ‘यो अहिलेको विषय होइन, जति बेला खनाल प्रअ हुनुहुन्थ्यो त्यति बेलाको बेरुजु हो, उहाँको नाममा छ कि अरूको नाममा छ त्यो उहाँले नै जान्ने विषय हो, उहाँले भन्नुभयो–तर उक्त बेरुजु असुल उपर गर्ने जिम्मेवारी उहाँकै हो, त्यसैले प्रअको हैसियतले मैले पत्र काटेको हुँ ।’ 

पत्र काटेपछि शिक्षकलाई उक्साएर आन्दोलन सुरु गर्नुभयो: विव्यस अध्यक्ष केसी 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले विद्यालयमा भएको आर्थिक अनियमितता र बेरुजु रकम जम्मा गर्न पूर्व प्रअ खनाललाई लिखित जानकारी दिँदा उहाँले अन्य शिक्षक र कर्मचारीहरूलाई उक्साएर आफू विरुद्ध आन्दोलन सुरु गरेको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष केसीले अहिलेको शिक्षकहरूको आन्दोलन पूर्व प्रअ खनालकै कारण भएको आरोप लगाउनुभएको हो ।

Narendra kc1696923980.png

मारमा विद्यार्थी 
स्वार्थको लडाइमा विद्यालय पिल्सिदा विद्यार्थी मारमा परेका छन् । असहज परिस्थितिका कारण पठन पाठनमा प्रत्यक्ष असर पर्न सुरु भइसकेको छ । यो लडाइको सबैभन्दा मारमा विद्यार्थी पर्ने निश्चित छ । आ आफ्नो स्वार्थको लडाइका कारण पठन पाठन अवरुद्ध हुने अवस्था आयो भने सबैभन्दा ठुलो मारमा पर्ने छन् । अभिभावकहरू समेत यसतर्फ चिन्तित छन् । विद्यालयको असहज अवस्थालाई सुधार गरेर पठन पाठनमा असर नपर्ने वातावरण बनाउन अभिभावकहरूको सुझाव छ ।   

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update