Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा सुपथ मूल्य पसल सञ्चालन, कति पाइन्छ छुट ? 
पसल उद्घाटन गर्दै जिसस उप प्रमुख देवबहादुर बिक ।

रुकुम पश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखा रुकुम पश्चिमले आजबाट दसैँ, तिहार र छठलाई लक्षित गरेर सल्लेमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । आज एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विकले सुपथ मूल्य पसलको उद्घाटन गर्नुभयो । असोज २१ गते देखि मङ्सिर ३ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख विनोद चन्दले जानकारी दिनुभयो । 

उहाँका अनुसार दसैँ तिहारलाई लक्षित गरेर शाखामा ५ सय ६० क्विन्टल स्टिम जिरा मनसुली चामल उपलब्ध भएको छ । सुपथ मूल्य पसलबाट साबिकको भन्दा प्रतिकिलो ७ रुपैयाँ कममा चामल विक्री भइरहेकाे प्रमुख चन्दले बताउनुभयाे । हाल शाखामा स्टिम जिरा मनसुली चामल मात्र रहेको छ । पहिले २५ किलोको बोरालाई २ हजार ३ सयमा विक्री गर्ने गरिएको थियो । सुपथ मूल्य पसल सञ्चालनमा आएपछि भने प्रतिबोरा १ सय ७५ रुपैयाँ कम अर्थात् २ हजार १ सय २५ रुपैयाँमा बेच्ने गरिएको छ । 

387330976_869052171228498_5647911835492454139_n1696931767.jpg

खाद्यबाट एक व्यक्तिले एक बोरामा मात्र लिन पाउने छन् । उपभोक्ताकाे नाम, ठेगाना र सम्पर्क नम्बर टिपेर चामल दिने गरेको शाखा प्रमुख चन्दले बताउनुभयाे । अघिल्लो वर्ष ३ हजार ७ सय क्विन्टल चामल बिक्री गरेकामा चालु आर्थिक वर्षमा २ सय ५० क्विन्टल चामल विक्री भइसकेकाे छ । खाद्यको चामल जिल्ला कारागार र गाउँतिर बढी जाने गरेको बताइएको छ । चामल धेरै ल्याउँदा बिग्रिएर खेर जाने भएकाले दसैँ तिहारलाई लक्षित गरेर ५ सय ६० क्विन्टल चामल ल्याइएको शाखा कार्यालयले जनाएकाे छ । 

शाखामा भएको चामल विक्री भएमा पुनः चामल ल्याएर उपभोक्तालाई वितरण गर्न सकिने बताइएकाे छ । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख विक, सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडूवाल, नेपाल प्रहरी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update