Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु 
सप्ताहकाे सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त ।

रुकुम पश्चिममा सडक सुरक्षा तथा ट्राफिक सप्ताह सुरु भएको छ । बुधबार बिहान प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सप्ताहको शुभारम्भ गर्नुभएको छ । यो सप्ताह अन्तर्गत सडक सुरक्षा र ट्राफिक सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू हुने छन् । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले सप्ताह अन्तर्गत बुधबार देखि असोज ३० गतेसम्म विभिन्न कार्यक्रम गर्ने बताइएको छ ।

सप्ताहको पहिलो दिन बुधबार सप्ताहको शुभारम्भ सहित मुख्य सडकका जेब्रा क्रसिङ, फुटपाथ र सडक लेन भएका स्थानहरूमा ट्राफिक स्वयंसेवकहरू परिचालन गरी पैदल यात्रु तथा चालकहरूलाई सुरक्षित तरिकाले बाटो काट्न सिकाएको र लेन अनुशासन पालना तथा सडक सभ्यता विकासका लागि जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Hariprasad Panta1697016451.jpg

सप्ताहको दोस्रो दिन दुई पाङ्ग्रे सवारी मोटरसाइकल तथा स्कुटर लक्षित चालकसँग २ मिनेट कार्यक्रम चेकजाँच, सम्झाइबुझाई र सचेतना दिने, तेस्रो दिन तीन पाङ्ग्रे सवारी साधन अटो चालकसँग २ मिनेट कार्यक्रम चेकजाँच, सम्झाइबुझाई र सचेतना तथा सवारी साधनहरूमा स्टिकर टाँस कार्यक्रम सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सप्ताहको चौथो दिन सार्वजनिक सवारी साधनहरूमा सवार यात्रुसँग २ मिनेट कार्यक्रम चालक र यात्रुहरूलाई ट्राफिक सचेतना र शुभ यात्रा तथा शुभकामना दिने, पाँचौँ दिन चालकको स्वास्थ्य परीक्षणका लागि शिविर सञ्चालन गर्ने, छैटौँ दिन सवारी साधनहरुको यान्त्रिक चेकजाँच कार्यक्रम गर्ने र सातौँ दिन लामो दुरीका सवारी चालक परिचालकहरूसँग चियापान, पत्रकार सम्मेलन, समापन कार्यक्रम र दीप प्रज्वलन कार्यक्रम गर्ने तालिका रहेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत सप्ताह सुरु भएको हो ।

सप्ताहको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी पन्तले यो सप्ताहले सडक सुरक्षामा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालयमा भएको सप्ताह शुभारम्भ कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय सहित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो ।  

Hari Prasad Panta1697016471.jpg

 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update