पदमार्ग अन्वेषक मनबहादुर खत्रीलाई एउटा ठूलो चिन्ता थियो । रुकुम पश्चिममा खास पदमार्ग कता हुन्छ ? कसरी पहिचान गर्न सकिन्छ भनेर । अब भने खत्री मख्ख हुनुहुन्छ । निरन्तरको प्रयासपछि उहाँले रुकुम पश्चिम र रुकुम पूर्व सिस्ने गाउँपालिकाको उत्तरी क्षेत्र समेटिएको पदमार्गको अन्वेषण सक्नु भएको छ । तीन पटकमा गरी ५८ दिनमा खत्री नेतृत्वको टोली सिस्ने राउण्ड पूरा गरेको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, र रुकुम पूर्वको सिस्ने गाउँपालिका समेटिने गरी सिस्ने राउण्ड तयार भएको छ । अब कोही पनि पैदल यात्री रुकुम पश्चिमका अग्ला पहाड हुँदै सिस्ने हिमालको फेरो लगाउन सक्नेछन् । रुकुम पश्चिमका विभिन्न पहाडबाट डोल्पा, जाजरकोट, दैलेख, बझाङ सम्मका सेताम्य हिमालको दृश्यावलोकन गर्न सकिने छ ।
‘यो जिल्ला पनि ठूलो सम्भावना बोकेको जिल्ला हो, भन्ने कुरा प्रष्ट भएको छ,’ खत्रीले भन्नुभयो, ‘हामीले यस अवधिमा जे कुरा पहिचान गरेका छौं, त्यसले पद यात्रीका लागि मात्रै होइन पर्यटन विकासका लागि पनि ठूलो सहयोग पुग्छ ।’ सिस्ने राउण्ड १४ दिनमा सकिने पदयात्रा बनेको छ । सिस्ने हिमाललाई फन्को मार्नका लागि यो राउण्ड पहिचान गरिएको हो । अन्वेषक खत्रीका अनुसार सिस्ने राउण्ड भित्र महत्वपूर्ण क्षेत्र छन् । बाटुलीपाटन, घागरेपास, सागबारी, देउतिपाटन, रक्तकुण्ड, देउतिपास, सिस्नेपास, नौ दह, द्धारी, भञ्ज्याङ, सिस्ने बेसक्याम्प, स्यार्पूताल, कमलदह,गुप्ता दह, चित्रिपाटन यस राउण्डका महत्वपूर्ण ठाउँ हुन् । यो राउण्डको यात्राको क्रममा धौलागिरी हिमश्रृङखला र काञ्जिरोवा हिमश्रृङखलाका थुप्रै हिमालहरु नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ ।
यो राउण्डमा भेटिने गाउँहरु
यो राउण्डको क्रममा धेरै रमाइला परम्परागत घर,गोठ भएका गाउँवस्ति भेटिन्छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाबाट यात्रा सुरु गर्दा काँडा, आठबीसकोट नगरपालिकाको थुम,रोकाजा,पहाडा, ओख्ले, चैतीखारा, बारंगे रुकुम पूर्वका सिस्ने गाउँपालिकाको ठूलासिस्ने, लाम्पाखा, ओख्रेन, दमार, भट्टेचौर पर्छन् । आठबीसकोट नगरपालिकाबाट सुरु गर्ने हो भने मैडाँडा, कोट, दाँजे, खदी,गोतामकोट, चिल,होलीकाँडा, होलीगाउँ, दमाचौर यी गाउँ भेटिन्छन् । सिस्ने गाउँपालिकाबाट पद यात्रा थाल्ने पदयात्रीले पोखरा, तातोपानी, आमलाचौर, ढाँका, दादिङ, छिपखोला, किँदा, प्वाङ, चारगाउँ, भेटाउँछन् । पद यात्रा गर्ने यात्रीले यी कुनै पनि रुटबाट यात्रा गर्न सक्ने गरी रुट तय गर्न सक्छन् ।
सिस्ने राउण्डको सम्भावना
पद यात्रा गर्ने यात्रीका लागि सिस्ने राउण्ड महत्वपूर्ण राउण्ड हुने विश्वास अन्वेषकहरुको छ । यो राउण्डमा यात्रा गर्नेले धेरै दृश्यावलोकन गर्न पाउनेछन् । यसमा मुख्य गरी पद यात्रीहरु हिड्ने छन् भने यसको साथै जडिबुटी, जिवजन्तु, तालतलैया, हिमाल, धार्मिक क्षेत्र अवलोकन तथा अध्ययनको सम्भावना बढेको छ । नयाँ ठाउँको भ्रमणको साथै ति ठाउँका विशेषताहरुबारे पनि जानकारी लिने अवसर सिस्ने राउण्डमा प्राप्त हुने छ । सिस्ने राउण्डको पदमार्ग सञ्चालन भएपछि स्थानीय जनशक्ति परिचालन र त्यसबाट आयस्रोतको बलियो सम्भावना छ । संस्कृति आदानप्रदान र सिक्ने अवसर पनि हुने छ । व्यापार, व्यवसायमा बढोत्तरीको सम्भावना छ । राज्यले कर संकलनका लागि पनि यसलाई उपयोग गर्न सक्छ ।
नभइ नहुने आधारभुत कुरा
पदयात्राको क्रममा केही आधारभुत कुरा हुनैपर्छ । नत्र पदयात्री दोहो¥याएर यत्रा गर्न अनिच्छुक हुन सक्छन् । सकारात्मक कोणबाट प्रचार हुँदैन । सिस्ने राउण्डको प्रारम्भिक अध्ययन सकिएको हो । यसमा नक्साकंनको काम, दृश्य छायाकन, मार्किङ, नम्बरिङ, बाटो निर्माण, विभिन्न ठाउँमा बस्नका लागि सेल्टरहरु, टेलिफोन नेटवर्क, केही ठाउँमा भ¥याङ तथा पुल, क्याम्पिङ साइड निर्माण, ठाउँठाउँमा हेलिप्याड जस्ता कुरामा ध्यान दिनुपर्ने छ । यसका साथै सिपयुक्त जनशक्तिको व्यवस्थापन पनि जरुरी छ । पदयात्रीलाई सजिलै यात्रा गराउन सक्ने गरी दक्ष जनशक्ति तयार पार्न तालिमको व्यवस्था गर्नुपर्ने पनि देखिएको छ । यसको साथसाथै गाउँघर सफा र सुरक्षित गराउनुपर्ने छ । यसपछि मात्रै बाहिरबाट आउनेहरु ढुक्कले यात्रा गर्न सक्छन् ।
अन्वेषणको योजना कसरी बन्यो
रुकुममै जन्मिएका खत्रीले बाहिर जिल्लामा रुट खोज्ने काम गर्नुभयो । धेरै पदयात्रा अन्वेषण पनि गर्नुभयो । तर सिस्नेको पछाडीको क्षेत्रको सम्भावनाबारे खोज्दै जाँदा खत्रीले नै यसको योजना बनाएर लाग्नुभएको थियो । पछि आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, रुकुम पूर्वको सिस्ने गाउँपालिका र संस्कृति तथा पर्यटन विकास केन्द्र पनि उहाँको योजनामा सामेल भए । सबैको सल्लाहमा सिस्ने राउण्ड अन्वेषणको काम थालिएको थियो । २ जना विदेशी सहित १४ जनाको टोलीलाई लिएर बाँफिकोट पुगेकै बेला देशमा लकडाउन भयो । यही लकडाउनको फाइदा खत्रीले लिनुभयो र पदयात्रा अन्वेषणको काम अघि बढ्यो । यसमा स्थानीय सरकारले अग्रसरता लिएपछि झन सजिलो भएको अनुभव खत्रीसित छ ।
आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले पहिलो चरणको काम सकिएकोमा खुसी व्यक्त गर्नुभयो । ‘यो विकासको छुट्टै पाटो हो,’ नगरप्रमुख केसीले भन्नुभयो, ‘यसको अवधारणबाट पर्यटन र त्यस रुटमा पर्ने गाउँको विकासमा टेवा पुग्ला भन्ने विश्वास बढेर गएको छ ।’ सिस्ने राउण्डमा विदेशी तथा स्वदेशीलाई हिडाउनका लागि थप काम गर्नका लागि नगरपालिका तयार रहेको नगरप्रमुख केसीले बताउनुभयो । बाँफिकोट गाउँपालिकाले पनि सिस्ने राउण्डले पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिएको छ । गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले पहिलो चरणको काम सकिएकोले अब नक्सा छाप्ने र वितरण गरी प्रचारको काम गरिने बताउनुभयो । सिस्ने राउण्डभित्र पर्ने गाउँपालिका र अरु क्षेत्रको समेत विकासका लागि गाउँपालिका तयार रहेको अध्यक्ष केसीले बताउनुभयो ।
के हो पदयात्रा ?
यसको जवाफ सजिलै छ । कुनै पनि सवारी साधनमा नभइ खुट्टाले हिडिने यात्रा नै पद यात्रा हो । यसलाई हाइकिङ, ट्रेकिङ जस्ता विभिन्न नामले पनि चिनिन्छ । नेपालमा १४ देखि २१ दिनसम्मको पदयात्रा चलेको छ । यसलाई राम्रो पदयात्रा मानिएको छ । दोस्रो विश्वयुद्धपछि विभिन्न देशका मान्छेहरु शिल्क सडक हुँदै नेपाल प्रवेश गरेका थिए । विशेष गरी हिप्पीहरुले नेपालमा पदयात्रा थालेको बताइन्छ । नेपालमा एभरेष्ट, अन्नपूर्ण, मनास्लु, पश्चिम धौलागिरीतिर पदयात्रीहरु हिडिरहेका छन् । पदयात्रीहरु विशेष गरी शारीरिक र मानसिक रुपमा तन्दुरुष्त हुन, थकावट मेट्न पदयात्रा गर्छन् ।
एतिहासिक, साँस्कृतिक चालाचलन, आदानप्रदान, गर्ने अध्ययन अवलोकनका लागि पनि मानिसहरुले पदयात्रा गर्छन । नेपालमा सबभन्दा बढी यूरोपियनहरु पदयात्रामा आउने गरेका छन् । पछिल्लो समय नेपालीहरु पनि पदयात्राा निस्कन थालेका छन् । पछिल्लो पटक अन्वेषण भएको सिस्ने राउण्डमा विदेशी तथा स्वदेशीलाई हिडाल्नका लागि अब घोषणा हुने पर्यटन वर्षसम्म आधारभुत पूर्वाधार विकास गरिसक्नुपर्ने छ । यति भएपछि मात्रै पदयात्री आउने, पदयात्रा गर्ने र त्यसबाट विकास हुने वातावरण पक्का हुन्छ ।
तस्बिर साैजन्यः मनबहादुर खत्री ।