जिल्ला प्रहरी कार्यालय सहित रुकुम पश्चिमका सबै प्रहरी इकाईमा पीडित नागरिक सहायता कक्ष स्थापना गरिएको छ । विभिन्न पीडामा परी कानुनी उपचारका लागि आउने नागरिकहरूलाई लक्षित गरेर बुधबार एकै पटक जिल्ला भरमा पीडित नागरिक सहायता कक्षको शुभारम्भ गरिएको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रम मार्फत उक्त कक्षहरूको उद्घाटन गर्नुभएको हो ।
कर्णाली प्रदेशको सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सहित जिल्लाभरका २५ वटा प्रहरी युनिटमा पीडित नागरिक सहायता कक्ष सञ्चालन गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । उक्त कक्ष मार्फत उजुरी लिएर आउने पीडितलाई परामर्श सहित कानुनी उपचारको बाटोको बारेमा जानकारी गराइने उहाँले बताउनुभयो ।
त्यस्तै कार्यालयमा पीडितले दिएका उजुरीको अवस्था के छ भन्ने बारेमा पीडितलाई प्रत्यक्ष फोन गरेर दैनिक रूपमा जानकारी गराइने छ । यसबाट पीडितले आफूले दिएको उजुरीमा के भइरहेको छ भनेर थाहा पाउने र प्रहरीप्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको डिएसपी भट्टराईले बताउनुभयो । अहिले प्रहरीमा दिएका उजुरीमा लामो समयसम्म सुनुवाइ नभएको भन्दै पीडितले बेला बेलामा गुनासो गर्ने गरेका छन् ।
अव भने पीडित नागरिक सहायता कक्षबाट दैनिक रूपमा पीडितलाई फोन मार्फत जानकारी गराइने हुँदा उक्त गुनासोमा कमी हुने प्रहरीको विश्वास छ । सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत यसअघि जिल्लाका सबै घरमा पुगेर प्रहरीको नम्बर सहितको स्टिकर टाँसिएको थियो । यसले प्रहरीलाई समयमै खबर आउने र अपराध नियन्त्रणमा टेवा पुगिरहेको प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।