रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा जारी जनक–सधुन स्मृति रनिङ शिल्ड महिला पुरुष भलिबलको फाइनल खेल आज हुने भएको छ । फाइनलमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ र बागलुङको निसीखोला गाउँपालिका २ खेल्ने भएका छन् ।
हिजो भएको पहिलो सेमिफाइनलमा बागलुङको निसिखोला गाउँपालिका वडा नम्बर ३ सँग पराजित भए पनि सानीभेरी गाउँपालिका ४ फाइनल पुगेको हो । निसिखोला ३ ले वडा भन्दा बाहिरका खेलाडी राखेका कारण सानीभेरी गाउँपालिका ४ को भाग्य चम्किएको हो ।
निसिखोला ३ ले केही खेलाडी वडा भन्दा बाहिरका राखेको भन्दै आयोजक समक्ष निवेदन दिएपछि त्यसबारेमा छानबिन गर्दा एक जना खेलाडी वडा बाहिरको पाइएपछि निसिखोला ३ खेलबाट निष्कासित भएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बिएमले जानकारी दिनुभयो ।
फाइनल खेल आज हुने भएको छ । महिला तर्फको फाइनल पनि आजै हुने अध्यक्ष बिएमले बताउनुभयो । महिला तर्फको फाइनलमा दार्मा गाउँपालिका ४ र बाँफिकोट गाउँपालिका ४ भिड्ने छन् । यसैबिच पुरुष तर्फ तृतीय बाँफिकोट गाउँपालिका ८ र महिला तर्फ सानीभेरी ४ भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत पुरुष तर्फको विजेताले नगद १ लाख ५१ हजार, रनिङ्ग शिल्ड, कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने अध्यक्ष बिएमले बताउनुभयो । उहाँका अनुसार उपविजेताले नगद १ लाख १ हजार, कप, मेडल र प्रमाण–पत्र पाउँदा तृतीय स्थान हासिल गर्ने टिमले नगद ५१ हजार कप, मेडल र प्रमाण–पत्र पाउने छन् ।
विभिन्न विधागत तर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । वेस्ट प्लेयरले १५ हजार बराबरको स्मार्ट फोन पाउँदा, उदयमान खेलाडी, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट स्पाइकर र वेस्ट सर्भरले समान २ हजार ५ सयका साथमा कप, मेडल र प्रमाण–पत्र पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष तर्फ रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, बागलुङ लगायत जिल्लाका २२ र महिला तर्फ रुकुम पश्चिम, सल्यान लगायत जिल्लाका ६ वटा टिमले प्रतिस्पर्धा गरेका छन् ।
यो प्रतियोगिता स्वर्गीय खेलाडी द्वय जनक शाह र सुधन श्रेष्ठको स्मृतिमा आयोजना गरिएको अध्यक्ष बिएमले जानकारी दिनुभयो । उहाँहरू दुवै जनाको २०७४ साल मङ्सिर ८ गते मुसिकोटको कानेवाङमा भएको गाडी दुर्घटनामा परी मृत्यु भएको थियो । उहाँको योगदान र स्मृतिमा प्रतियोगिता आयोजना गरिएको बिएमले बताउनुभयो । उहाँका अनुसार यो प्रतियोगिता अव देखि हरेक वर्ष आयोजना हुने छ ।