Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पू महोत्सव: ५ लाख घाटा 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ को बिचमा पर्ने स्यार्पू तालमा सञ्चालन गरिएको महोत्सवको आय व्यय सार्वजनिक गरिएको छ । आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमले पत्रकार सम्मेलन गरेर महोत्सवको आय व्यय सार्वजनिक गरेको हो । आय तर्फ स्टल वितरण तर्फ ४ लाख, टिकट वितरण १ सयका दरले ५ हजार टिकटको ५ लाख गरेर ९ लाख रुपैयाँ रहेकाे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो ।

त्यस्तै व्यय तर्फ टेन्ट शुल्क ५ लाख, साउन्ड सिस्टम २ लाख ५० हजार, प्रचार सामग्री छपाई १ लाख, यातायात भाडा शुल्क ८० हजार, होटेल खर्च १ लाख, कलाकार खर्च २ लाख ५० हजार र अन्य खर्च २० हजार गरेर १३ लाख रहेको अध्यक्ष देवकोटाले बताउनुभयाे । महाेत्सवबाट ५ लाख घाटा लागेकाे आयाेजकले जनाएकाे । घाटामा रहेपनि स्यार्पू ताललाई प्रचारप्रसार गर्ने उद्देश्य भने पुरा भएको र घाटा भएको तर्फ मात्रै नसोचिएको आयोजकले जनाएको छ ।

Syarpu 1696849545.jpg

टिकट ५ हजार जनाले काटेर प्रवेश गरे पनि बाहिरी रूपमा स्यार्पू तालको अवलोकन ५० हजार भन्दा धेरै जनाले गरेको अध्यक्ष देवकोटाको भनाई छ । स्थानीयहरूले सञ्चालन गरेका होमस्टेहरू लगायत अन्य व्यावसायिक हिसाबले ११ दिनको समयमा ५० देखि ६० लाखको रकमको कारोबार भएको उहाँको भनाई छ । असोज ११ गतेदेखि सुरु भएको स्यार्पू महोत्सव २१ गतेसम्म लागेको थियो ।

स्यार्पू तालमा पहिलो पटक २०६७ साल असोज ११ देखि १५ गतेसम्म महोत्सव लागेको थियो । त्यसको १३ वर्ष पछि भने दोस्रो पटक लामो समय १० दिनसम्म महोत्सव चलेको हो । बाँफिकोट गाउँपालिकाले आयोजना गरेको महोत्सवको व्यवस्थापन भने राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जिल्ला शाखाले गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update