Kakhara सबैको खबर सम्पूर्ण खबर
इजाजत नलिई मदिरा पसल सञ्चालन, हुँदैन कारबाही 
अनुगमन गरिदै ।

चाडपर्व नजिकिएसँगै रुकुम पश्चिममा बजार अनुगमनलाई तीव्रता दिइएको छ । चाडपर्वको समयमा हुने कालोबजारी रोक्न र व्यवसायीलाई करको दायरामा ल्याउन मुसिकोट नगरपालिकाका विभिन्न ठाउँमा बजार अनुगमन गरिएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालयको आयोजनामा, उद्योग वाणिज्य सङ्घ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र मुसिकोट नगरपालिकाको समन्वयमा मुसिकोटमा नगरपालिका सञ्चालनमा रहेका मदिरा पसलहरूमा अनुगमन गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल तथा अवैध मदिरा नियन्त्रण समितिका सदस्य सचिव कवीन्द्र पुनले जानकारी दिनुभयो । 

उहाँका अनुसार सल्ले, मठ, पातुखोला, सहिद मैदान, खलङ्गा, बागबजार, सेरिगाऊँ, वडा नम्बर ४ को सितलपोखरी र सोलावाङ बजारमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा होटेल र मदिरा पसलमा इजाजत प्रमाणपत्र नलिई विक्री वितरण गरेको पाइएको छ । अनुगमन गरेका ५९ वटा मदिरा तथा होटेलहरू मध्य ३७ वटा पसलमा इजाजत प्रमाण पत्र लिई नवीकरण गरेर विक्री वितरण गरेको पाइएको छ । भने १० वटा पसल नवीकरण नगरेको, ११ वटा पसलले इजाजत प्रमाण पत्र नलिई बिक्री वितरण गरेको पाइएको सदस्य सचिव पुनले जानकारी दिनुभयो । 

एक वटा पसलले भने पान नम्बर समेत नलिई मदिरा बिक्री वितरण गरिरहेको पाइएको छ । इजाजत नलिई सञ्चालनमा रहेका मदिरा तथा होटेललाई १ महिनाको समय दिएर इजाजत पत्र लिन भनिएको छ । १ महिनामा पनि इजाजत पत्र नलिए पसलमा राखिएका मदिरा मदिरा जफत गरिने सदस्य सचिव पुनको भनाई छ । केही दिनमा त्रिवेणी गाउँपालि र आठबीसकोट नगरपालिकाको विभिन्न बजार क्षेत्रमा अनुगमन गरिने बताएको छ । अनुगमन कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्का, मुसिकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द, अवैध मदिरा नियन्त्रण समितिका संयोजक एकबहादुर केसी, नेपाल प्रहरी, पत्रकार लगायतको सहभागिता रहको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update