कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले देशको नेतृत्व गर्ने तागत विद्यार्थीहरूमा रहेको बताउनुभयो छ । आज अखिल क्रान्तिकारी रुकुम पश्चिमको २७ औँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले हरेक विद्यार्थीमा भोली गएर देशको नेतृत्व गर्ने तागत रहेको बताउनुभएको हो । ‘तपाईँबाट तपाईँका आमा बुवा मात्र होइन यो देशले आशा गरेको छ, भरोसा गरेको छ, उहाँले भन्नुभयो–भोली नेता बन्ने पनि तपाई हो, चाहे प्राविधिक क्षेत्रमा होस, चाहे आर्थिक क्षेत्रमा होस, चाहे आर्थिक क्षेत्रमा होस समग्रमा यो देशको नेतृत्व गर्ने तागत तपाई विद्यार्थीहरूमै छ ।’
विद्यार्थीहरूले क्षमता विकास गर्न भने आवश्यक रहेको उहाँको भनाई छ । आफूलाई गम्भीरताका साथ बुझ्न र आफ्नो क्षेत्र र पेरिफेरिलाई राम्ररी पढेर मानव जातीको हित हुने गरी काम गर्न विद्यार्थीहरूले ज्ञान हासिल गर्न आवश्यक रहेको मुख्यमन्त्री शर्माले बताउनुभयो । साथै उहाँले आम विद्यार्थीभन्दा राजनीतिक रूपमा सङ्गठित भएका विद्यार्थीहरू थप क्षमतावान् हुनुपर्नेमा समेत जोड दिनुभएको छ । यस्ता विद्यार्थीहरू सबै क्षेत्रमा अब्बल हुनुपर्ने र रहिपनि रहेको उहाँको भनाई थियो ।
त्यस्तै अर्को प्रसङ्गमा मुख्यमन्त्री शर्माले शिक्षा क्षेत्रको व्यापक सुधार हुनुपर्ने औँल्याउनुभयो । यही कुरालाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । ‘अहिले टाउकोले टेकेको शिक्षालाई खुट्टाले टेक्ने बनाउनै पर्छ, कर्णाली प्रदेश सरकार शिक्षालाई व्यवहारिक, संस्कारयुक्त र गुणस्तरीय बनाउनका लागि लागिपरेको छ ।’ शिक्षा क्षेत्र दक्ष जनशक्ति उत्पादन गर्ने कारखाना भएको उहाँले बताउनुभयो ।
कुन देशको अवस्था कस्तो छ भनेर त्यस देशको शिक्षाले निर्धारण गर्ने भएकोले कर्णाली प्रदेशले शिक्षालाई पहिलो प्राथमिकता दिएको मुख्यमन्त्री शर्माले बताउनुभयो । यसै अभियान अन्तर्गत कर्णाली प्रदेश सरकारले शिक्षण सिकाई केन्द्र स्थापनाको अन्तिम तयारीमा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यो केन्द्र मार्फत विद्यार्थीलाई पढाउने कुरा, शिक्षकहरूसँग अन्तरक्रिया गर्ने कुरा, उत्पादनसँग जोड्ने कुरा, प्रविधिसँग जोड्ने कुरा, अभिभावकसँग जोड्ने कुरा र स्थानीय तहमा स्थानीय पाठ्यक्रमलाई व्यवस्थित गर्ने काम हुनेछ ।