रुकुम पूर्वमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड संचालन हुने भएको छ । बैशाख ६ देखि ८ गतेसम्म जिल्लाको भुमे गाउँपालिका–१, को सिद्धचौर मावि लुकुममा शिल्ड संचालन गर्ने निर्णय भएको छ । शुक्रबार बसेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड संचालन व्यवस्थापन समितिको बैठकले ६ गते देखि ८ गतेसम्म शिल्ड संचालन गर्ने निर्णय गरेको जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष नामेन्द्र सुनारले जानकारी दिनुभयो ।
यो शिल्ड स्थानीय तह बनेपछिको दोस्रो तथा समग्रमा १२ औं हो । यसअघि जिल्लामा २ वर्ष अगाडि शिल्ड आयोजना गरिएको थियो । त्यसबेला रुक्मिणि मावि सिस्ने गाउँपालिका ५ रुकुमकोटमा शिल्ड भएको थियो । गत वर्ष भने कोरोना भाईरसका कारण शिल्ड आयोजना हुन पाएन् । स्थानीय तहमा शिल्ड संचालन भएपछि जिल्ला स्तरीय शिल्ड आयोजना गर्ने व्यवस्था छ । हालसम्म जिल्लाका भुमे र सिस्ने गाउँपालिकाले शिल्ड संचालन गरिसकेका छन् ।
भुमेले वडा नं. ९ को नेपाल राष्ट्रिय मावि चुनवाङमा र सिस्ने गाउँपालिकाले वडा नं. ३ को जनता मावि पोखरामा शिल्ड संचालन गरेको थियो । पुथाउत्तरगंगा गाउँपालिकाले पनि शिल्ड संचालन गर्ने जानकारी गराएको जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष सुनारले जानकारी दिनुभयो । जिल्ला स्तरीय शिल्ड अगाडि नै गाउँपालिकाले शिल्ड गरिसक्ने जानकारी गराएको उहाँको भनाई छ । गाउँपालिका स्तरीय शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुले जिल्ला स्तरीय शिल्डमा प्रतिस्पर्धा गर्न पाउने छन् ।
कुन कुन स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई शिल्डमा भाग लिन दिने भन्ने बारेमा निर्णय हुन बाँकी रहेको उहाँले बताउनुभयो ।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका २०७० ले शिल्ड मार्फत विद्यार्थीहरुलाई केन्द्रविन्दु बनाई खेल प्रतिभाको खोजि गर्दै प्रतिभाको संरक्षण, संवद्र्धन र प्रबद्र्धन गरी राष्ट्र निर्माण एवं विकासमा जोड्ने उद्ेश्य लिएको छ ।