नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रुकुम पश्चिमको २७ औँ जिल्ला सम्मेलन मुसिकोटमा जारी छ । हिजो उद्घाटन भएको सम्मेलन नयाँ नेतृत्व छान्दै आज सकिने सङ्गठनले जनाएको छ । नेतृत्वमा सहमति जुट्न नसकेपछि चुनाव हुने भएको छ । हिजाे साँझसम्म सहमतिको प्रयास गर्दा पनि सफल हुन नसकेपछि आज चुनाव हुन लागेको हो ।
३३ जनाको जिल्ला समिति निर्माण भएको छ भने त्यसैबाट पदाधिकारीको निर्वाचन हुन लागेको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष र सचिवमा चुनाव हुने भएको छ भने अन्य पदमा निर्विरोध भइसकेको छ । अध्यक्षमा ४ जना र सचिवमा २ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावलीमा उल्लेख छ । अध्यक्षमा खुमराज ओली, निर्मला बुढाथोकी, निराजन केसी र विशाल विष्टको उम्मेदवारी परेको छ ।
त्यस्तै सचिवमा अपार रसाइली र दुर्गाप्रसाद विकको उम्मेदवारी परेको छ । अहिले निर्वाचनको प्रक्रिया चलिरहेको छ । यति वेला उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ । अन्तिम नामावली प्रकाशन भएपछि निर्वाचन हुने वा नहुने भन्ने बारेमा टुङ्गो लाग्ने निर्वाचन समितिको भनाई छ ।
अन्य पदमा भने निर्विरोध भएको छ । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा किरण विश्वकर्मा र दीपेन्द्र ओली, सह सचिवमा पूजा विक र प्रकाश डाँगी तथा कोषाध्यक्षमा विजया पुन मगर निर्विरोध हुनुभएको हो ।