रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ मा ४ सय ८३ जनाले निःशुल्क स्वास्थ्य चेकजाँच गराएका छन् । वडा कार्यालयले आयोजना गरेको निःशुल्क स्वास्थ्य चेकजाँच शिविरबाट ४ सय ८३ जनाले सेवा लिएका हुन । यसमा आर्थिक र प्राविधिक सहयोग मानव विकास तथा सामुदायिक सेवा द्वारा सञ्चालित चौरजहारी अस्पतालको रहेको वडा सदस्य सन्तोष ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार ४ सय ८३ मध्य ३ सय ५४ महिला र १ सय २९ जना पुरुषले स्वास्थ्य चेकजाँच गराएका हुन ।
स्वास्थ्य चेकजाँच गराउनेमा २० जना गर्भवती महिला पनि रहेका छन् । त्यस्तै १ सय ३८ जनाले रक्त समूह चेकजाँच गराएको ओलीले जानकारी दिनुभयो । शिविरमा चौरजहारी अस्पतालका डाक्टर रोहित कोजु सहित २७ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियाे । वडामै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ । गाउँमै निःशुल्क स्वास्थ्य चेकजाँच गर्न पाएपछि स्थानीय खुसी भएका छन् ।