नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले आयोजना गरेको त्रिपक्षीय मैत्रीपूर्ण फुटबल कर्मचारीको टिमले जितेको छ । मुसिकोट ४ बोहरागाउँ खेल मैदानमा आज जिल्लास्थित पत्रकार, कर्मचारी र सुरक्षाकर्मीका बिचमा मैत्रीपूर्ण फुटबल भएको थियो । कर्मचारीको टिमले पत्रकार र सुरक्षाकर्मीको टोलीलाई पराजित गर्यो ।
पहिलो खेल कर्मचारी र पत्रकारका बिचमा भएको थियो । उक्त खेलमा कर्मचारीको टिम १–० ले विजयी भयो । पहिलो हाफ बराबरीमा सकिएकामा दोस्रो हाफको सुरुवातमै कर्मचारीको टिमले गोल गर्यो । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन । दुवै टिमले राम्रा अवसरहरू सृजना गरे पनि गोलमा परिणत गर्न नसक्दा खेल १–० मा सकिएको थियो ।
त्यसपछि कर्मचारी र सुरक्षाकर्मीको टोली भिडेको थियो । जसमा कर्मचारीको टोली पेनाल्टी सुट आउटमा १–० ले विजयी भयो । निर्धारित ४० मिनेट र थपिएको १० मिनेटमा दुवै तर्फबाट ३–३ गोल भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । ३–३ जना खेलाडीले पेनाल्टी प्रहार गरेकामा कर्मचारीका तर्फबाट डाक्टर केहलविक्रम जिसीले गरेको गोल नै निर्णायक बन्यो । अन्य कुनै पनि खेलाडीले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् ।
त्यसअघि नियमित समयमा ३–० ले पछि परेको अवस्थामा कर्मचारीको टोलीले उत्कृष्ट पुनरागमन गरेको थियो । बडा दसैँ तथा तिहारको अवसरमा शुभकामना आदान प्रदानका साथै मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार शुभकामना आदान प्रदान तथा भाइचाराको विकास गर्न खेल आयोजना गरिएको हो । विजेता टोलीका लागि खसीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयाे ।
महासङ्घले यसअघि पनि सोही मैदानमा मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो । एक कार्यक्रमका बिच खेलको उद्घाटन गरिएको थियो । महासङ्घका अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेपाली सेनाको चण्डीदल गणका गणपति प्रमुख सेनानी शरद थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमन लामिछाने, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन महासङ्घका सचिव हिरा परियारले गर्नुभएको थियो ।