रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गाको सत्कार होटेलमा एक महिला मृत फेला परेको घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर सहितको टोली आउने भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिमप्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान टोली आउन लागेको हो । कुकुर सहितको टोली आउन लागेकोले शव नचलाइएको र होटेलमै सुरक्षा दिइरहेको उहाँले बताउनुभयो ।
आज बिहान कोठा नम्बर १ मा अन्दाजी ३० बर्सिया महिलाको शव फेला परेको थियो । उक्त कोठा आइतबार त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा बुक गरिएको पाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । ‘मृतक महिलालाई विकासले आफ्नी श्रीमती भनेर उल्लेख गरेको पाइएको छ, होटेलमा लेखिएको नाम सत्य हो कि होइन, उनीहरू को हुन भनेर अनुसन्धान भइरहेको छ उहाँले भन्नुभयो ।’ प्रहरीका अनुसार कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा कोठाभित्र सिरकले छोपेको अवस्थामा शव भेटिएको हो ।
होटेलमा जानकारी नगराई हिजो देखि नै बाहिरबाट ताल्चा लगाएको देखिएपछि शङ्कास्पद ठानेर कोठा खोली हेर्दा शव फेला परेको होटेल सञ्चालकको भनाई छ । सुरुमा कहीँ गएका होलान्, आइहाल्लान् भन्ने लागेको तर नआएपछि कोठा खोलेर हेर्दा महिला मृत अवस्थामा फेला परेको होटेल सञ्चालकले जनाएको प्रहरीको भनाई छ । मृतक महिलाको आँखा छोपिने गरी टाउकोमा पट्टीले बाँधिएको र टाउकोबाट रगत बगेको देखिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।
‘हत्या भएको देखिन्छ, शरीरका कुन भागमा के कति चोट छ भनेर अहिले भन्ने अवस्था छैन, कुकुर सहितको टोली आइरहेकोले हामीले शवलाई छोएका छैनौँ, अहिले बाहिरबाट हेर्दा टाउकोबाट रगत आइरहेकोले टाउकोमा चोट हुनसक्ने अनुमान छ, उहाँले भन्नुभयो ।’