Kakhara सबैको खबर सम्पूर्ण खबर
असल अभ्यासको खोजीमा लुम्बिनी र गण्डकी प्रदेशको यात्रा

गत हप्ता लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानीय तहहरूसँग असल अभ्यास आदान प्रदान गर्ने अवसर मिल्यो । आफ्नै तौर तरिका र ढङ्ग ढाँचाबाट काम गरेकाहरूका लागि अन्तरपालिका सिकाइ आदानप्रदान महत्त्वपूर्ण थियो । ध्यान पुग्न नसकेको क्षेत्र उजागर गर्न गराउन अनुभव आदान प्रदानले मद्दत गरेको आभास भएको छ ।  कर्णालीका चौरजहारी, पञ्च पुरी र दुल्लु नगरपालिकाका साथै तिला र सोरु गाउँपालिकाको प्रतिनिधि मण्डल असल अभ्यास आदानप्रदानमा प्रस्थान गरेको थियो ।  अन्तरपालिकासँगको साक्षात्कार पश्चात् प्राप्त असल अभ्यासलाई यसमा चर्चा गर्ने प्रयास गरिएको छ ।

टोलीको असल अभ्यास आदानप्रदानका गर्ने पहिलो स्थानीय तह तिलोत्तमा नगरपालिका बन्यो ।  आफू शिक्षक बन्दा र त्यही शिक्षक विद्यार्थीको भूमिकामा रहँदा निकै पृथक् अनुभूति हुन्छ । एउटा कार्यालय प्रमुख अर्को कुनै कार्यालयमा सेवाग्राहीको रूपमा जानुपर्दा त्यहाँ पनि फरक अनुभूति पक्कै हुन्छ । आफ्नो कामप्रतिको आत्म समीक्षा हुन्छ । आफ्नो कमजोरी सुधार्न मद्दत पुर्छ । त्यस्तै अनुभूति तिलोत्तमासँगको साक्षात्कारले बनायो ।  तिलोत्तमाको आफ्नै तिलोत्तमा गीत छ ।  प्रवेशद्वारमा हरेक दिन नयाँ  आदर्श वाक्य हुन्छ । जहाँ कर्मचारी र सेवाग्राहीले समेत उक्त आदर्शलाई आत्मसात् गरुन् । फोहर मैला व्यवस्थापनलाई  नगरपालिकाले प्राथमिकतामा राखेको छ ।  विज्ञापन करका लागि फ्री वाइफाइ जोन बनाइ राजश्व सङ्कलनको नयाँ क्षेत्र पहिचान गरी कार्यान्वयन गरेको छ । छाडा छोडेका गाईहरूको व्यवस्थापनका लागि गौशाला  छ । गैरसरकारी क्षेत्रसँगको सहकार्यमा गौशालालाई बहु उपयोगी बनाइएको छ । नगरपालिकाले बृहत् सरसफाइ योजना बनाएर सफा नगर बनाउने कार्यक्रम अघि सारेको छ । तिलोत्तमामा हर्ष बजाउन पाइँदैन । हर्नका कारण हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न हर्न निषेध छ । प्लास्टिक जन्य पदार्थको नियन्त्रण तथा फजुल खर्च नियन्त्रण तथा स्वास्थ्यका लागिसमेत गुट्खाजन्य पदार्थ विक्री वितरणमा प्रतिबन्ध लगाएर नगरपालिकाले रचनात्मक कार्यको सुरुवात गरेको छ ।

तिलोत्तमा स्थानीय तहमा लगानी सम्मेलन गर्ने पहिलो नगरपालिका हो । जन्मदिनमा एक बिरुवा रोप्नुपर्ने नीति नगरपालिकाले कार्यान्वयन गरेको छ ।  हरित नगरको पहिचानको सोच पूरा गर्न नगरपालिकाले यस्तो योजना अघि सारेको हो । १ लाख ४९ हजार जनसङ्ख्या रहेको नगरपालिकामा २५ प्रतिशतले मात्रै जन्मदिनमा वृक्षारोपण गरे वार्षिक ३७ हजारभन्दा बढी बिरुवा थप हुँदै जाने नगरपालिकाको विश्वास छ । बालमैत्री नगरपालिका, Cow Rescue Van, फ्री वाई फाइ जोन, गुनासोका लागि टोल फ्री नम्बर पनि नगरपालिकाका रचनात्मक कार्यहरू हुन् । राजश्वको सहजताका लागि कार्यालयभित्रै बैङ्क शाखा, अनलाइन घर नक्सा रजिस्ट्रेसन गर्ने व्यवस्था समेत नगरपालिकाले मिलाएको छ । पर्यटन प्रवर्धन, विद्यालयहरूमा सृजनशील शुक्रवार, विद्युतीय सवारी चार्जिङ् स्टेसन, नगर बस, सूचना प्रविधि सम्मेलन, विषादी गुणस्तर मापन प्रयोगशाला निर्माणलाई नगरपालिकाको यस वर्ष प्राथमिकतामा राखेको छ ।  

तिलोत्तमा पछि  असल अभ्यासका लागि स्याङ्जाको वालिङ नगरपालिकासँग साक्षात्कार भयो । फोहोर मैला व्यवस्थापनमा नगरपालिकाले प्रशंसनीय कार्य गरेको छ । फोहोरलाई मोहर बनाउने भन्ने उक्तिलाई नगरपालिकाले सार्थक बनाएको छ । फोहोर व्यवस्थापनबाट मात्रै गत आ.व. मा  नगरपालिकालाई २४ लाख समेत आम्दानी भएको छ । फोहर मैला विसर्जन केन्द्र सरसफाइ अध्ययन केन्द्र बनेको छ । फोहोर मैला व्यवस्थापनमा टोल विकास संस्थालाई सक्रिय र जिम्मेवार बनाइएको छ । नागरिक सक्रियता र सहभागिताले मात्रै सरकारका योजनाहरू सार्थक हुन्छन् भन्ने दृष्टान्तका रूपमा टोल विकास संस्थाको परिचालनलाई लिन सकिन्छ । मोबाइल एप्लिकेसन मार्फत् एकीकृत अनलाइन सेवा, सबैले घरमा गुलाबी रङ लगाउनुपर्ने व्यवस्था वालिङका  पृथक् र अनुकरणीय कार्य हुन् ।

वालिङपछि टोली फेदी खोला गाउँपालिका पुग्यो ।  फेदी खोलाले कृषि उत्पादन र मजदुरको पक्षमा अनुकरणीय कार्य गरेको छ ।  समाजवादी विकास मोडलको झल्को समेत फेदी खोलाले दिलायो । कृषक र मजदुरको हितको पक्षमा बजेट तथा कार्यक्रम केन्द्रित गरी व्यवसायीकरणमा जोड रहेको छ । कृषिजन्य उत्पादन बजार पुर्‍याउन तथा बिचौलिया मुक्त गर्न कृषि एम्बुलेन्स सञ्चालनमा छ । मजदुर वर्गको हित र उत्थानका लागि मजुर सञ्चित कोषको स्थापना गरिएको छ । मजदुरको ज्यालामा १५ प्रतिशत कट्टी गर्ने र त्यसमा पालिकाको १५ प्रतिशत रकम थप गरी बैङ्क खातामा जम्मा गरी रोक्का हुन्छ । विशेष अवस्थामा मजदुरका लागि जम्मा गरेको रकम वरदान साबित हुने गरेको छ । मजदुरको बचतका आधारमा बैङ्कहरूले बिना धितो ऋणका लागि समेत पत्याउन थालेका छन् ।

फेदी खोलामा बाँझो जमिन राख्न पाइँदैन । कृषि प्रवर्धनका लागि १० टनको चिस्यान केन्द्र, ६० हजार बिरुवा उत्पादन गर्न सक्ने हाई टेक नर्सरी, कृषिमा युवा उद्यम, हलगोरु अनुदान कार्यक्रम सञ्चालनमा ल्याइएको छ । युवा कृषकका लागि  विना धितो ऋण प्रवाह हुन्छ । एकीकृत सफ्टवेयर प्रणालीमार्फत सेवा प्रवाह, राजमार्ग सुरक्षा जस्ता कार्यक्रम प्राथमिकतामा छन् । इन्टरनेटको सहज र गुणस्तरीय पहुँचका लागि लोकल नेटवर्क स्थापना गरी पालिका आफैले फाइबर नेट विस्तार गरेको छ ।

असल अभ्यास आदानप्रदानको चौथो दिन गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानमा साक्षात्कार गर्ने अवसर प्राप्त भयो । प्रतिबद्धता, इमानदारिता र नवप्रवर्तनलाई प्रतिष्ठानले आत्मसात् गरेको छ । कर्मचारी र जनप्रतिनिधिहरूको क्षमता विकासलाई व्यवहारिक, जीवन्त र दिगो बनाउन प्रतिष्ठान क्रियाशील छ ।  वर्ष कार्यक्रम बनाएर प्रतिष्ठान अघि बढेको छ । प्रतिष्ठानबाट लामो र छोटो अवधिका ११६ वटा तालिम सञ्चालन भएका छन् । यसबाट ४ हजार २०७ जनाले क्षमता विकासको अवसर प्राप्त गरेको प्रतिष्ठानको रेकर्डमा उल्लेख छ । सामान्य प्रशासन मन्त्रालयबाट अनुमति प्राप्त गरी प्रदेश र स्थानीय तहमा कार्यरत छैटौँ, सातौँ र आठौँ तहका अधिकृत स्तरका कर्मचारीको सेवाकालीन तालिम प्रदान गर्ने प्रतिष्ठान पहिलो हो । Quality Austria बाट गुण व्यवस्थापनको मान्यता समेत प्रतिष्ठानले पाएको छ । प्रतिष्ठानको राम्रो अभ्यास तालिम सञ्चालन मात्र होइन त्यसको कार्यान्वयन र प्रभावकारिताको अनुगमन मूल्याङ्कन समेत हो । यसलाई तालिम प्रशिक्षणमा गरेको लगानी परिणाममुखी बनाउन गरिएको असल प्रयत्नका रूपमा लिन सकिन्छ ।

असल अभ्यास आदानप्रदानका लागि टोली अन्तिम दिन शुक्लागण्डकी नगरपालिकासँग पुग्यो । शुक्लागण्डकीले सेवाग्राहीमैत्री सेवाका लागि सेवा प्रवाह सञ्चालन केन्द्र सञ्चालन गरेको छ । सेवाग्राही फाइल बोकेर कोठा कोठा धाउनु पर्ने अवस्थाको अन्त्य गरेको छ । माग गरिएको सेवाको प्रगतिबारे १० /१० मिनेटमा जानकारी गराउनुपर्ने व्यवस्थाले सेवाग्राहीप्रतिको उत्तरदायित्व र जिम्मेवारीलाई उच्च सम्मान गरेको छ ।  सेवाग्राही सन्तुष्टि सर्वेक्षण, वडागत सक्षमताका आधारमा वडागत बजेट सिलिङ नगरपालिकाका असल अभ्यासहरू हुन् । कर्मचारी सक्रियता, अभिलेख व्यवस्थापन र प्रतिवेदन उतिकै राम्रो छ ।

असल अभ्यास आदानप्रदानका क्रममा चौरजहारी नगरपालिकाको तर्फबाट पनि असल अभ्यासहरू प्रस्तुत गर्ने अवसर प्राप्त भयो । नगर बस, सहुलियतपूर्ण एम्बुलेन्स सेवा, विपन्न नागरिक १२ सय ८० घरपरिवारलाई नि:शुल्क स्वास्थ्य बिमा नगरपालिकाले गरिदिएको छ । रोजगारीका लागि उद्योग, ब्लड बैङ्क सञ्चालन, नगर अस्पताल, विद्यार्थीहरूका लागि पोसाक र स्टेशनरीको कार्यक्रम नगरपालिकाले सञ्चालन गरेको छ । एक घर एक धारा, टिनका छानामुक्त विद्यालय भवन निर्माण अभियानको सफलता अनुकरणीय कार्य हुन् ।  नि:शुल्क फोटोकपी सेवा, सेवाग्राही सन्तुष्टि सर्वेक्षण, लिजा र फ्रामा जिल्लाकै उत्कृष्ट नतिजाको पहिचान चौरजहारी नगरपालिकाले बनाएको छ । आफ्नै प्रशासकीय भवन, १२ वटा वडाको आफ्नै कार्यालय भवनबाट सेवा प्रवाहको व्यवस्था चौरजहारी नगरपालिकाका असल अभ्यासहरू हुन् ।

अन्त्यमा, स्थानीय आवश्यकता, सोच र अपेक्षालाई स्थानीय तहहरूले आफ्नै ढङ्गले सम्बोधन गर्दै गएका छन् । आत्म समीक्षा र आगामी नीति, बजेट तथा कार्यक्रमका लागि अन्तरपालिका साक्षात्कारले असल अभ्यास अनुकरणका लागि अवश्य पनि प्रेरित गरेको छ । कार्यक्रमको संयोजन गर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कर्णाली प्रदेश सुर्खेत र आर्थिक सहयोग गर्ने European union support to Inclusive Federalism (EUSIF/UNDP) लाई धन्यवाद ! तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, वालिङ नगरपालिका नगर प्रमुख कृष्ण खाँण, उपप्रमुख कृष्ण गैह्रे, फेदी खोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देउकुमारी गुरुङ, गण्डकी प्रदेश प्रतिष्ठान कार्यकारी निर्देशक ऋषिराम पाण्डे, शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डित र उपप्रमुख खुमबहादुर वि.क.प्रति आभार प्रकट गर्दछु । आपसी सद्भाव, हित प्रवर्धन र भाइचाराको सम्बन्ध विकास गर्न कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्यो ।   सुशासन, विकास र समृद्धि प्राप्त गर्न कार्यक्रमले थप टेवा पुग्ने विश्वास छ ।  

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update